मुस्ताङमा कांग्रेसका योद्धा गुमाएपछि भावुक बने पूर्वमन्त्री थकाली, निर्वाचनमा क्लिन स्वीप गर्ने घोषणा

लेते । नेपाली कांग्रेस मुस्ताङका नेता तथा कार्यकर्ताहरूले कांग्रेस पराजित हुँदा मुस्ताङ जिल्लाको विकास झन् पछाडि परेको भन्दै गुनासो गरेका छन् ।

मुस्ताङको स्थानीय तहमा कांग्रेस बहुमतमा रहेपनि केन्द्रको राजनीतिले गर्दा जिल्लामा काम गर्न समस्या भएको भन्दै चिन्ता जनाएका हुन् । अबको निर्वाचनमा कांग्रेसलाई मस्ताङले विजयी बनाउने नेताहरूले उद्घोष गरे ।

उनीहरूले मुस्ताङमा स्थानीय तहमा कांग्रेसले जित्नु र प्रतिनिधि सभा र प्रदेश सभामा नेकपाले जितेका कारण तालमेल नभएर विकासमा समस्या भएको उल्लेख गरे । नेकपाले आफ्ना कार्यकर्ताहरूलाई उपभोक्ता समिति बनाएर बजेट दुरुपोग गरेकोमा कांग्रेसले विरोध समेत जनाएको छ ।

कांग्रेसले जितेका स्थानीय तहमा गाउँपालिकाहरूले विकासका उल्लेख कामहरू गरेका छन् । तर, केन्द्र र प्रदेशबाट आउने बजेट आउन नसकेको तथा कांग्रेसको पालामा आएको बजेट पनि फ्रिज भएको भन्दै कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता रोमी गौचन थकालीसँग गुनासो गरे ।

सामाजिक दुरी कायम राखेर भेटवार्ता गरेका नेता थकालीले कांग्रेस हार्दैमा मुस्ताङको विकासमा पछाडि नहट्ने बताए । उनले भने, ‘म पराजित भएँ हुँला । यहाँको विकासबाट म हारेको छैन । मेरो पालामा बाटोहरू बनेका छन् । बेनी हुँदै जोमसमसम्मको सडक कालोपत्र हुनुपर्छ । जोमसोमदेखि कोरोना नाकासम्मको सडकको ९० करोड बजेट नै फ्रिज भएपछि नेपाली कांग्रेसका नेताहरू नेकपाका सांसदसँग रिसाएका छन् ।

नेपाली कांग्रेस मुस्ताङका कार्यबाहक सभापति नर्बु गुरुङले प्रतिनिधि सभामा कांग्रेसको पराजय मुस्ताङको विकासका लागि बाधक भएको बताए । गुरुङले पूर्वमन्त्री गौचन मुस्ताङमा लोकप्रिय नेता र कांग्रेसका नेता तथा कार्यकर्ता मात्रै नभइ मुस्ताङको हुँ भनेपछि जस्तो सुकै सहयोग गर्ने व्यक्ति भएको बताए ।

‘कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले शुरु गर्नुभएको विकासका योजनाहरू पूरा हुन पाएन’, गुरुङले भने, ‘जोमसोमदेखि अप्पर मुस्ताङसम्मको बाटो बन्न सकेन । ९० करोड रकम फ्रिज भयो । हाम्रा लागि यो ठूलो दुर्भाग्य भयो ।’ नेता गौचनले आफूले मुस्ताङको विकास गर्दा धेरै अड्चनहरू ब्यहोर्नुपरेको भन्दै अब स्थानीय जनताले नै विकासमा अग्रसरता देखाउनुपर्ने बताएका छन् । उनले निर्देशन दिँदै भने, ‘मैले वा तपाईले मात्रै गर्ने होइन । हामी सबै मिलेर मेरो भन्ने भावनाका साथ काम गर्नुपर्छ ।’

कांग्रेसका नेता एवम् पूर्वमन्त्री थकालीले मुस्ताङको विकासका लागि आफू पराजित भएपनि सधैँ काम गरिरहने प्रतिवद्धता जनाए । उनले जिल्लामा आएको बजेट कार्यान्वयनमा स्थानीयले पनि चासो राख्नुपर्नेबताएका छन् ।

कोरोना भाइरसको महामारीका बेला प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित भएर गएका नेकपाका जनप्रतिनिधिहरूले राजनीतिकस्तरबाट गर्नुपर्ने काम गर्न नसकेको भन्दै कांग्रेसका नेताहरूले गुनासो गरेका छन् ।

कोरोना रोकथाम र नियन्त्रणमा स्थानीय प्रशासन, प्रहरी, सेना र गाउँपालिकाहरूले विशेष रुपमा काम गरेको कांग्रेस नेताहरूले बताएका छन् । पूर्वमन्त्री थकालीले पनि नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरूभन्दा पनि कोरोना भाइरसको महामारीमा राहत तथा उद्धारमा स्थानीय प्रशासन र सुरक्षा निकायले अति नै राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए । थकालीले स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूलाई आफूले जहिले पनि सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

‘कांग्रेसको होनहार योद्धा गुमायौँ’

नेपाली कांग्रेस मुस्ताङका महासमिति सदस्य एवम् प्रजातान्त्रिक योद्धा पेमा छिरिङ गुरुङको निधन भएपछि श्रद्धाञ्जलि र शोकमा परेका परिवारहरूलाई समवेदना दिन आएका पूर्वमन्त्री थकालीले मुस्ताङबाट कांग्रेसले होनहार नेता गुमाएको बताए ।

चराङ निवासी स्व.गुरुङ स्थानीय तहको निर्वाचनमा डालेमा दामोदर कुण्ड गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेका थिए । उनी झिनोमतले पराजित भएका थिए ।

थकालीले गुरुङको निधनबाट आफू अत्यन्तै मर्माहत भएको भन्दै मौसमका कारण समयमा आउन नपाएकोमा माफी समेत मागेका थिए । ‘मौसमको प्रतिकुलताका कारण म समयमा आएर श्रद्धाञ्जलि दिन सकिन’, उनले भने, ‘गरुङको निधनबाट सबैभन्दा धेरै म र सिङ्गो कांग्रेसलाई पीडा भएको छ ।’

बिहीबार कांग्रेस नेता एवम् पूर्वमन्त्री थकालीले चारङ, लोमान्थाङ, जोमसोम र लेतेमा स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेट गरेका हुन् । त्यस क्रममा उनीहरूले थकालीसँग जिल्लाको विकासमा नेकपाको नेतृत्वले काम गर्न नसकेको भनेर गुनासो गरेका थिए ।

लोमान्थाङ गाउँपालिकाका प्रमुख एवम् कांग्रेस नेता सुवर्ण विष्ट, उपप्रमुख एवम् कांग्रेस नेतृ छुमी विष्ट, मुक्तिनाथ गाउँपालिकाका प्रमुख एवम् कांग्रेस नेता धारा गुरुङ, थासाङ गाउँपालिकाका प्रमुख एवम् कांग्रेस नेता बुद्धिप्रसाद शेरचन, उपप्रमुख बालकुमारी शेरचन, नेविसंघ मुस्ताङका जिल्ला अध्यक्ष आक्रोश शेरचन, नेपाल दलित संघका जिल्ला अध्यक्ष हरि नेपाली, जिल्ला समन्वय समितिका उप–प्रमुख राजेन्द्र शेरचन, कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरू, वडा सदस्यहरूलगायतका उल्लेख्य सहभागिता रहेको थियो ।

Published : Saturday, 2020 July 4, 2:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया