राष्ट्रपति भण्डारीलाई महाभियोग लगाएर हटाउन गोप्य परामर्श, शीतल निवासमा खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर हटाउनेसम्मको गतिविधि भएको रहस्य बाहिरिएको छ ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति भण्डारीलाई महाभियोग लगाएर हटाउने योजना बनाएको उच्च स्रोतले जनाएको छ ।

उनीहरूले दुईजना वरिष्ठ कानून ब्यवसायीसँग छलफल गरेको दाबी स्रोतको छ ।

दाहाल र नेपालले नेकपामा बुधवार डा.युवराज संग्रौला र गोविन्द बन्दीसँग राष्ट्रपति भण्डारीबिरुद्ध महाअभियोग लगाउने विषयमा छलफल गरेका हुन् ।

डा.संग्रौलाले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन सकिने सुझाव दिएका छन् । त्यसका लागि सभामुखले साथ दिनुपर्ने डा.संग्रौलाको भनाइ छ ।

महाअभियोग लगाउने विषयमा छलफल भएपनि सो प्रस्ताव पास गर्न सकिने अवस्था नरहेपछि दाहाल–नेपाल ब्याक भएको एक नेताले बताए ।

राष्ट्रपति भण्डारीले नेकपाका नेताहरूलाई बोलाएर अनावश्यक राजनीतिक हस्तक्षेपहरू गरेपछि आलोचना हुँदै आएको छ ।

भण्डारीलाई संवैधानिक मर्यादाअनुसार बस्नका लागि नेकपा र विपक्षी दलहरूले बेलाबेला सुझाव दिँदै आएका छन् । तर, भण्डारीले सुझाव नमान्दा नेकपाकै नेताहरूले महाभियोग लगाउनेबारेमा परामर्श गरेका हुन् ।

Published : Saturday, 2020 July 4, 9:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया