यी हुन् महिलालाई म्वाइखान र रात बिताउन प्रस्ताव राख्ने नेकपाका वडाध्यक्ष, प्रहरी खाेरमा पुगे

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका एक जना वडाध्यक्ष महिलामाथि यौनदुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथ बिहीबार स्थानीय महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । महिलालाई यौन दुर्व्यवहार गरेपछि स्थानीय युवतीहरूले जुत्ताको माला बनाएर वडाध्यक्ष नाथलाई लगाइदिन खोजेका थिए ।

वडाध्यक्ष नाथले आफू राजनीतिक प्रतिशाेधकाे शिकार भएकाे प्रतिक्रिया दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरवहादुर थापा क्षेत्रीले वडाध्यक्ष नाथलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

पसल गर्दै आएकी ती महिलालाई वडाध्यक्ष नाथले चुम्बन गर्न माग गर्नुका साथै सँगै बिताउन प्रस्ताव गरेर यौन दुर्व्यवहार गरेको आरोप वडाध्यक्ष नाथलाई लागेको छ ।

बिहीबार दिउँसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाअध्यक्ष नाथले राति ती महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । तीन जना साथीहरूका साथ वडाध्यक्ष नाथ बा २० च ४६३५ नम्बरको गाडीमा मदिरा सेवन गर्न ती महिलाको होटेलमा पुगेका थिए ।

वडाअध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै स्थानीय महिलामाथि यौन दुर्व्यवहार गरेको भन्दै स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए ।

दोषी वडाध्यक्षलाई कारबाहीको माग गरेर प्रदर्शन गर्दा प्रहरीले हेल्मेटले होनेर एकजना युवकलाई घाइते समेत बनाएको छ ।

नेकपाबाट निर्वाचित वडाअध्यक्ष नाथले महिलालाई अंकमाल गर्न खोज्दै चुम्बन दिन आग्रह गरेको महिलाले आरोप लगाएकी छन् ।

यसअघि, तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलालाई याैन दुर्व्यवहार गरेकाे अभियाेगमा पक्राउ परेका थिए । पछि उनले अदालतबाट सफाइ पाएका थिए । महराले सभामुख पद नै गुमाउनु परेकाे थियाे ।

Published : Friday, 2020 July 3, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया