हामी बाँचेकै गाउँका कार्यकर्ताले, जनताले कांग्रेस खाेज्न थालिसकेः पूर्वमन्त्री थकाली

जोमसोम । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले पार्टीका नेता तथा कार्यकर्ताहरूले अहिलेको समयलाई अबसरका रुपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

बिहीबार मुस्ताङ जिल्लाका विभिन्न स्थानमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटमा पूर्वमन्त्री थकालीले कांग्रेसलाई संगठन बनाउन सुनौलो अवसर आएको बताए । उनले पार्टीभित्रका तिक्तताहरूलाई भुलेर मिलेर अगाडि बढ्नुपर्ने बताए ।

‘कांग्रेसको आधारस्तम्भ भनेको तपाई गाउँका कार्यकर्ता हो’, थकालीले भने, ‘मैले एक्लैले गरेर केही हुँदैन । तपाईहरूको साथ भयो भने मात्रै हामी सबै मिलेर राजनीतिक उदेश्य पूरा गर्न सक्छौँ ।’

नेता थकालीले कांग्रेसको जीवन भनेको गाउँका कार्यकर्ता भएको बताए । उनले गाउँका कार्यकर्ताहरूले नै कांग्रेसलाई बचाएको भन्दै गाउँका जनताको समस्यालाई विशेष ध्यान दिनुपर्ने बताए ।

‘निर्वाचनमा हामी पराजित भयौँ । जनताले हामीलाई पाँच वर्ष पार्टीको संगठन गर्न र जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन्’, उनले भने, ‘हामीले यो समयलाई अबसरका रुपमा लिनुपर्छ ।’

प्रतिनिधि सभा, प्रदेश र स्थानीय तहको निर्वाचनमा कांग्रेस प्राविधिक रुपमा पराजित भएपनि गाउँका कार्यकर्ताको मनबाट पराजित नभएको उनले बताए । ‘हामी हा¥यौँ होला ?’, उनले भने, ‘जनताको मनबाट हारेका छैनौँ । लोकतान्त्रिक पार्टी कांग्रेसलाई जनताले फेरि जिताएर पठाउनेछन् ।’

तत्कालीन एमाले र माओवादीहरू मिलेर निर्वाचनमा प्रतिस्पर्धा गरेको प्रसंग कोट्याउँदै कांग्रेस नेता थकालीले भने, ‘कम्युनिस्ट साथीहरूले जितेर जानुभयो । तर, जनताले अपेक्षा गरेअनुसारको काम गर्न सक्नुभएको छैन ।’

उपल्लो मुस्ताङको सडक बनाउन आफूले ल्याएदिएका करीव ९० करोड सरकारी बजेट काम गर्न नसकेर फिर्ता भएकोमा कांग्रेस नेता थकालीले चिन्ता जनाए । ‘हाम्रा जितेर गएका जनप्रतिनिधिहरूले काम गर्न सक्नुभएन । विकासका बजेटहरू फ्रिज भएर गएको सुनेको छु’, उनले भने, ‘बजेट फ्रिज हुनुभनेको मुस्ताङ जिल्लाको दुर्भाग्य हो ।’

मुस्ताङ कांग्रेसका कार्यबाहक सभापति नुर्बु गुरुङसहितका स्थानीय नेता तथा कार्यकर्ताहरूले राष्ट्रिय राजनीतिका विषयमा नेता थकालीसँग जिज्ञासा राखेका थिए । उनीहरूले कांग्रेस अब कसरी अगाडि बढ्छ भनेर जिज्ञासा राखेको कार्यबाहक सभापति गुरुङले बताए ।

जवाफमा पूर्वमन्त्री समेत रहेका नेता थकालीले कांग्रेसले मुलुकको पछिल्लो राजनीतिलाई नजिकबाट नियाली रहेको बताउँदै मुलुकमा रहेको व्यवस्था नै खतरामा पर्ने हो कि भनेर धेरैलाई चिन्ता बढ्न थालेको बताए ।

‘कम्युनिस्टहरूलाई जनताले विश्वास गरे । उहाँहरूले झण्डै दुईतिहाइ पाउनुभयो’, उनले भने, ‘कम्युनिस्टहरूबाट मुलुक चलेन । जनताले दुःख मात्रै पाए । कम्युनिस्टहरूका कारण यो व्यवस्था नै खतरामा पर्छ कि भन्ने चिन्ता कांग्रेसलाई लागेको छ ।’

लेते, लोमाङथाङ, जोमसोम र लोकेघर गाउँपालिकाका नेता तथा कार्यकर्ताहरूसँग कांग्रेस नेता थकालीले बुधबार भलाकुसारी गरेका हुन् ।

कांग्रेसका नेता तथा कार्यकर्ताहरूले स्थानीयस्तरमा देखिएका समस्याहरू समाधानका लागि नेता थकालीसँग आग्रह गरेका थिए ।

Published : Thursday, 2020 July 2, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया