लकडाउनका बेला कांग्रेसभित्रको कहानी

काठमाडौं । करीव छ महिना अगाडि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँदिल्ली गएका थिए । दिल्ली बसाइँका बेला पौडेलले भारतीय नेताहरूसँग भेट गरे । भारतीय नेताहरूले पार्टी सभापति र प्रधानमन्त्री बनाइदिने आश्वासन पाएपछि पौडेल भारतविरुद्ध बोल्नै छाडेका छन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने विषयमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशांक कोइराला र कृष्णप्रसाद सिटौलाले बोल्नै चाहेनन् । उनीहरूले सार्वजनिक रुपमा भारतको विरोध गरेनन् । उनीहरूले लिपुलेकका बारेमा मौनता साँधेर बसे ।

अहिले नागरिकताको विषय आएको छ । विदेशी महिला नेपालमा विवाह गरेर आएपछि सात वर्षपछि नागरिकता दिने विधेयक संसदमा पुगेको छ । यो विधेयकको विरोधमा कांग्रेस देखिएको छ । सभापति शेरबहादुर देउवाले महिला र पुरुषलाई विदेभ नगरी नागरिकता दिनुपर्ने पछिल्लो अडान राखेका छन् ।

स्रोतका अनुसार पदाधिकारीको बैठकमा सभापति देउवाले नागरिकताको विषयमा विचार गरेर निर्णय गर्न प्रस्ताव गरेका थिए । तर, उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता पौडेल, महामन्त्री डा.कोइराला र कृष्णप्रसाद सिटौलाले विवाह गरेर आउनेवित्तिकै भारतीय महिलालाई नागरिकता दिनुपर्छ भन्ने पक्षमा लबिङ गरे ।

उनीहरूको दवावमा कांग्रेसको पदाधिकारी बैठकले भारतीय महिलाहरू विवाह गरेर आउनेवित्तिकै एक हातले सिन्दुर र अर्को हातमा नागरिकता दिने पक्षमा निर्णय गरेको छ ।

कांग्रेसको यो निर्णयले कांग्रेसलाई ठूलो धक्का पुग्नेछ । कांग्रेसमा बहुमत सदस्यहरू समेत नागरिकताको विषयमा पदाधिकारीको बैठकको निर्णयभन्दा फरक पक्षमा छन् । सात वर्षपछि अंगीकृत नागरिकता दिने विषयमा सकारात्मक हुनुपर्नेमा कांग्रेसले आफूलाई विपक्षमा उभ्याएको छ ।

यसअघि वरिष्ठ नेता पौडेल, निधि, सिटौला र डा.कोइरालाले लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा पनि विपक्षमा कांग्रेसलाई उभ्याउन खोजेका थिए । तर, सभापति देउवाले पदाधिकारी बैठकमा सिमानाका विषयमा अल्पमतमा पर्ने देखेपछि केन्द्रीय कार्यसमितिको बैठकमार्फत भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गर्ने पक्षमा निर्णय गराएका थिए ।

नागरिकताको विषयमा सभापति देउवा र अरु दुई पदाधिकारी बाहेक सबै पदाधिकारीहरू बिहे गरेर आउने भारतीय महिलालाई तत्काल नागरिकता दिने पक्षमा छन् । कांग्रेसभित्रको यो मतले गर्दा आगामी चुनावमा पुनः समस्या हुने चर्चा हुन थालेको छ ।

आईजीपी र महाभियोग प्रकरणमा विमलेन्द्र निधिले खेलेको रोलका कारण प्रतिनिधि सभा निर्वाचन, प्रदेश र स्थानीय निर्वाचनमा कांग्रेसलाई ठूलो नोक्सानी भएको थियो । निधिको हर्कतले गर्दा कांग्रेसलाई नोक्सानी भयो । पौडेल, निधि, डा.कोइराला र सिटौलाले नागरिकता र सिमानाको विषयमा देखाएको दोगला निर्णयले कांग्रेसलाई अर्को चुनावमा संकट पर्ने चर्चा हुन थालेको छ ।

स–साना कुराहरूमा फेसबुक लाइभमा आएर आफ्नो धारणा राख्ने वरिष्ठ नेता पौडेलले भारतीय दादागिरिका विषयमा बोल्न सकेका छैनन् । कृषि र झिनामसिना कुराहरूमा वरिष्ठ नेता पौडेल लाइभमा आउने गरेका छन् । उनले सिमाना र नागरिकताका विषयमा बोल्ने गरेका छैनन् । पौडेलसहितका नेताहरू किन भारतविरुद्ध बोल्न सक्दैनन् भनेर कार्यकर्ताहरूले आशंकाले हेर्न थालेका छन् ।

Published : Thursday, 2020 July 2, 5:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया