कांग्रेस सांसद छन्त्यालको निधन

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभाकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६३ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो । छन्त्यालको निधनसँगै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रभावित बनेको छ ।

‘बैठकले शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ’, कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । अन्त्येष्टिमा सहभागी हुन कांग्रेसका नेताहरू दिउँसो १ बजे पशुपति जानेछन् ।

छन्त्याल बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङकी हुन् । उनी प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिइन् ।

उनी संसदको कृषि, सहकारी, वातावरण र पशुपंक्षि समितिमा सदस्य थिइन् । उनका दुई छोरा र दुई छोरी छन् । उनले नेपाल महिला संघबाट राजनीति थालेकी थिइन् ।

उनी संविधानसभा सदस्य पनि थिइन् । लामो समय आमा समूहमा रहेर काम गरेकी उनले अन्तरपार्टी महिला सञ्जालमा पनि काम गरिन् ।

Published : Wednesday, 2020 July 1, 10:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया