वैदेशिक रोजगार व्यवसायीहरूलाई धरौटीको रकम चलाउन दिन कांग्रेसको आग्रह, अर्थमन्त्री सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसले वैदेशिक रोजगार व्यवसायीहरूसँग लिएको धरौटीको ५० लाख रुपियाँ एक वर्षका लागि निःशुल्क चलाउन दिन माग गरेको छ ।

मंगलबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक एवम् सह–महान्त्री डा.प्रकाशशरण महतले अर्थमन्त्री डा.युवराज खतिवडासँग व्यवसायीहरूलाई धरौटीको ५० लाख रुपियाँ निर्व्याजी रुपमा चलाउन दिन आग्रह गरेका हुन् । कांग्रेसको सुझाव सकारात्मक रहेको अर्थमन्त्री डा.खतिवडाको भनाइ रहेको छ ।

कांग्रेसको मागप्रति अर्थमन्त्री डा.खतिवडाले आफू सकारात्मक रहेको जानकारी दिएको कोरोना अनुगमन समितिका सदस्य एवम् वरिष्ठ वैदेशिक रोजगार व्यवसायी विमल ढकालले जानकारी दिए । समितिको केही दिन अगाडि बसेको बैठकमा सदस्य ढकालले संयोजक डा.महतलाई व्यवसायीहरूको कम्पनी नवीकरण र ५० लाख चलाउन पाउनुपर्ने माग राखेका थिए ।

‘कोरोना महामारी र लकडाउनका कारण वैदेशिक रोजगार व्यवसायीहरू समस्यामा छन्’, ढकालले भने, ‘कांग्रेसको कोरोना अनुगमन समितिको तर्फबाट संयोजक समेत रहनुभएका डा.प्रकाशशरण महतले अर्थमन्त्री डा.युवराज खतिवडासँग व्यवसायीहरूले राखेको ५० लाख धरौटीको रकम एक वर्षका लागि निःशुल्क चलाउन दिन माग गर्नुभएको छ ।’

वैदेशिक रोजगार व्यवसायीहरूलाई व्यवसाय गर्न वैदेशिक रोजगार विभागले ५० लाख नगद र एक करोड ५० लाख बराबरको जिन्सी धरौटी गरी दुई करोड बराबरको धरौटी लिने गरेको छ ।

सोहीमध्यको ५० लाख रकम एक वर्ष निःशुल्क चलाएर व्यवसायीहरूले पुनः फिर्ता गर्ने गरी व्यवस्था मिलाउन कांग्रेसका सहमहामन्त्री डा.महतले अर्थमन्त्रीलाई आग्रह गरेका हुन् । अर्थमन्त्री डा.खतिवडाले यो विषयमा आफूले सल्लाह गरेर उचित निर्णय लिने आश्वासन दिएको समितिका सदस्य ढकालले बताए ।

ईराकमा १२ जना नेपालीहरूको हत्या भएको विरोधमा २०६१ सालको भदौ १६ गते काठमाडौंमा रहेका म्यानपावर कम्पनीका कार्यालयहरू तोडफोड र जलाइएका थिए ।

त्यस बेला व्यवसायीहरूलाई समस्या परेको भन्दै तत्कालीन सरकारले व्यवसायीहरूले राखेको पाँच लाख धरौटीको रकम एक वर्षका लागि चलाउन निःशुल्क दिइएको थियो । व्यवसायीहरूले एक वर्षपछि सो रकम तिरेका थिए ।

त्यस बेला प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र राज्यमन्त्री डा.प्रकाशशरण महत थिए । मुलुकमा संकट परेका बेला र व्यवसायीहरूको समस्यालाई समाधान गर्न कांग्रेसले धरौटीको रकम चलाउन दिन सरकारलाई सुझाव दिएको छ ।

नेपाली कांग्रेस निकटका व्यवसायीहरूले वैदेशिक रोजगारीमा परेको समस्यालाई पार्टीका नेताहरूमार्फत सरकारलाई दवाव दिँदै आएका छन् ।

यसैबीच, सरकारले बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकबाट वैदेशिक रोजगार व्यवसायीहरूको कम्पनी नवीरण गर्नेबारेको निर्णयको अन्तिम तयारी गरेको छ । सो विषयमा फाइल तयार भइसकेको छ ।

एक वर्षमा एक सय कामदार रोजगारीमा पठाउन नसक्ने कम्पनीको नवीकरण नहुने कानूनी व्यवस्था रहेको छ । लकडाउनले व्यवसायीहरूलाई समस्या परेपछि कांग्रेस निकटका व्यवसायीहरूले प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री डा.खतिवडा र श्रममन्त्री रामेश्वर राय यादवलाई भेटेरै लबिङ गरेका थिए ।

Published : Wednesday, 2020 July 1, 8:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया