ओलीलाई कांग्रेसले सचेत गरायो

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकार परिवर्तनका लागि भारतले षड्यन्त्र गरिरहेको भनेर दिएको अभिव्यक्तिको विरोध जनाएको छ ।

कांग्रेसले ओलीलाई गैह्रजिम्मेवार नबन सचेत गराएको छ । सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विषयमा छलफल भएको प्रवक्ता शर्माले बताए ।

संसद र संसदीय समितिमा आफ्नै पार्टीको बहुमत हुँदा पनि यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु आपत्तिजनक भएको उनले बताएका छन् ।

‘नक्साको विषयलाई आफूले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउनतर्फ अमूक देश लाग्यो भन्ने अभिव्यक्ति गैरजिम्मेवार, कूटनीतिक मूल्यमान्यताभन्दा बाहिरको छ’, शर्माले भनेका छन् ।

‘नक्सा पारित गरेको विषय एक प्रधानमन्त्रीको विषय होइन’, कांग्रेसले भनेको छ, ‘सिङ्गो देश एक भएर संसदले पारित गरेको नक्सा हो । सबैको साझा स्वामित्व छ ।’

साझा संकल्पका साथ नक्सा पारित गर्दा देश एक ठाउँमा उभिएको बेला दिल्लीसँग दृढताका साथ कुरा गर्न पनि आग्रह गरिएको प्रवक्ता शर्माले बताएका छन् ।

नक्सा प्रकाशित भएपछि भूमि फिर्ताका लागि पहल गर्न आग्रह गर्दा पनि प्रधानमन्त्रीले विषयान्तर गर्न खोजेको उनले बताएका छन् ।

संविधानले बहुमतबाट सरकार बनाउने र हटाउने अधिकार दिएको भन्दै शर्माले प्रधानमन्त्री ओलीले आफ्ना सहपाठी वा अन्य कुनैसँग सम्बन्धित भएर दिएको अभिव्यक्ति गैरराजनीतिक भएको टिप्पणी गरेका छन् ।

Published : Tuesday, 2020 June 30, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया