कोरोना नियन्त्रण गर्न कांग्रेसद्वारा काम्युनिस्ट सरकारलाई दवाव, दुई मन्त्रीसँग स्पष्टीकरण माग

काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य तथा जनसंख्या मन्त्री र अर्थ मन्त्री कोरोना रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासका बारेमा जानकारी लिएको छ ।

नेपाली कांग्रेस ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवम् सह–महामन्त्री डा.प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधि मण्डलले मंगलबार अर्थमन्त्री डा.युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग अलग–अलग भेट गरी कोभिड –१९ का विषयमा हाल सरकारबाट भए गरेका क्रियाकलापहरू तथा आगामी दिनका कार्यक्रमहरूका बारेमा जानकारी लिएको हो ।

कांग्रेसले विगतदेखि उठाउँदै आएका विषयहरूलाई पुनः ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

डा.महत नेतृत्वको प्रतिनिधि मण्डलले स्वास्थ्यमन्त्री ढकालसंग भएका छलफलमा कांग्रेसले कोभिड–१९ बाट सिर्जित राष्ट्रिय समस्यामा सरकारलाई सकारात्मक सहयोग गरेको जनाएको छ ।

कांग्रेसले सरकारलाई सुझाव प्रदान गरेको र ५० लाख शुरुमै सहयोग गरेको अवगत गराउँदै क्वारेन्टिनको उचित व्यवस्थापन, पीसीआर परीक्षणको दायरा बढाउन, विदेश र छिमेकी मुलुकबाट आउने नेपालीहरूलाई सुरक्षित तथा व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्न भनेको छ ।

स्थानीय तहहरूलाई समयमै प्रयाप्त रकम उपलव्ध गराउन, स्वास्थ्य उपकरणको खरिद र गुणस्तरको बारेमा पारदर्शिता अपनाउन, नन् कोभिड रोगको (दीर्घ रोगी, प्रसुति सेवा, खोप, मानसिक समस्या जस्तै डिप्रेसन आदि) उपचारको बारेमा विशेष ध्यान दिन कांग्रेसले माग गरेको छ ।

आत्महत्या, बलात्कार, महिला हिंसा जस्ता सामाजिक समस्याहरूको रोकथाम गर्न, वर्षाको मौसम शुरु भइसकेकोले विभिन्न किसिमका अन्य सरुवा रोगहरू र बाढी, पहिरोको प्रकोप हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी महामारीको समस्या अझ बढी जटिल हुन सक्ने त्यसतर्फ समयमै ध्यान दिन कांग्रेसले सुझाव दिएको छ ।

अग्रणी भूमिकामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टिनमा खटिएका स्वयंसेवकहरूको सुरक्षा र सुविधाको लागि विशेष ध्यान दिन, समयमै प्रयाप्त स्वास्थ्य सामग्रीहरू खरिद गर्न, निजी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूको समुचित उपयोग गर्नेतर्फ समेत ध्यान दिने आदि विषयहरूको बारेमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रतिनिधि मण्डलले अर्थमन्त्रीसंगको भेटघाटमा कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असर र त्यसका समाधानका बारेमा छलफल गरेको छ ।

प्रतिनिधि मण्डलले विभिन्न देश तथा भारतबाट फर्किएका युवाहरूको रोजगारीको व्यवस्था गर्न, लकडाउनबाट प्रभावित उद्योग धन्दाहरूको सुचारुको लागि उपयुक्त आर्थिक सहयोगको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

साना मझौला र अनौपचारिक व्यवसायहरूलाई विशेष सहयोगको प्याकेज ल्याउन, क्वारेन्टाइन तथा अन्य आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनको लागि स्थानीय निकायहरूलाई प्रयाप्त र समयमै वजेट उपलव्ध गराउन, गरिव र वेरोजगारहरूलाई रोग र भोकबाट बचाउन विशेष राहतका कार्यक्रम ल्याउन पनि कांग्रेसले माग गरेको छ ।

वैदेशिक रोजगारमा गएका युवाहरूलाई स्वदेश फर्कन लाग्ने हवाईभाडामा विशेष सहुलियत प्रदान गर्न पनि आग्रह गरिएको सहमहामन्त्री डा.महतले बताएका छन् ।

एडीवी, विश्व वैंक जस्ता विभिन्न विकास सहयोगी संस्थाहरूबाट प्राप्त सहयोगहरूको बारेमा जानकारी माग्नुका साथै ती सहयोगहरूको उचित सदुपयोगको सुनिश्चितता हुनुपर्नेमा पनि अर्थमन्त्री डा.खतिवडालाई सजग गराएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल र अर्थमन्त्री डा.खतिवडासंगको भेटघाटमा ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक तथा पार्टीका सह–महामन्त्री डा. प्रकाशशरण महतसहित केन्द्रीय सदस्यहरू एनपी साउँद, डा.चन्द्र भण्डारी, गगनकुमार थापा र मोहनबहादुर बस्नेत, विज्ञहरूको तर्फबाट डा. प्रभु बुढाथोकी, डा. पोषराज पाण्डे र नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीको सहभागिता थियो ।

Published : Tuesday, 2020 June 30, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया