जबज र एमाले बिघठन गरेपछि ओलीलाई मदन भण्डारीकाे नाम लिने अधिकार छैनः कांग्रेस नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले प्रधानमन्त्री खड्गप्रसाद ओलीले मदन भण्डारीको सिद्धान्तलाई ‘प्रजा परिषद्’ बनाएको भन्दै ‘जनताको बहुदलीय जनवाद’ (जबज) उच्चारण गर्न नैतिकताले नदिने बताएका छन् ।

पूर्वसांसद समेत रहेका कांग्रेस नेता थकालीले कम्युनिस्ट नेता स्व.मदन भण्डारीको नाम उच्चारण गर्ने अधिकार ओलीसँग नरहेको बताए ।

‘ओलीजीले स्व.मदन भण्डारीको ‘जबज’लाई खारेज गरेर नेकपा (एमाले) भन्ने पार्टी नै बिघठन गर्नुभएको छ’, रिपब्लिका दैनिकसँग सोमबार कुरा गर्दै थकालीले भने, ‘मदन भण्डारीको नाम र उहाँको राजनीतिक सिद्धान्त ‘जबज’का बारेमा बोल्ने अधिकार ओलीजीले गुमाउनुभएको छ ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार स्व.मदन भण्डारीको सम्झनामा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै कांग्रेस नेता थकालीले ओली र उनको दलका नेताहरूले ‘जबज’लाई टंकप्रसाद आचार्यको पार्टी ‘प्रजा परिषद्’ बनाएको उल्लेख गरेका हुन् ।

१२ वर्षसम्म कथित जनयुद्धका नाममा १७ हजार मान्छे मारेर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि २१औँ शताब्दीको जनवादी क्रान्तिलाई प्रजा परिषद् बनाएको थकालीले बताएका छन् ।

‘ओली र प्रचण्ड भनेका व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने मान्छे हुन्’, उनले भने, ‘उहाँहरूले जबज र २१औँ शताब्दीको जनवादी क्रान्तिलाई प्रजा परिषद् बनाएर लालचको राजनीति गर्नुभएको छ ।’

तत्कालीन एमाले र माओवादीबीच भएको पार्टी एकीकरण राजनीतिक सिद्धान्तमा नभएको उनले बताए ।

‘एमालेको जबज सिद्धान्तलाई छाडेपछि कम्युनिस्टहरू अबस्था के होला भनेर उहाँहरूकै कार्यकर्ता चिन्तित भएको मैले पाएको छु’, कांग्रेस नेता थकालीले भनेका छन् ।

अरुको दलको आन्तरिक विषयमा टिप्पणी गर्न नहुने भन्दै कांग्रेस नेता थकालीले भने, ‘स्व.मदन भण्डारी दुरदर्शी योजना भएको नेता हो । उहाँको सिद्धान्त बिघठन गरेर प्रजा परिषद् बनाएको कुरा हामी जस्ता लोकतन्त्रप्रति आस्था राख्नेलाई चित्त बुझ्दैन ।’

स्व.मदन भण्डारीको विचारलाई अवासान गराउने ओलीलाई मदन भण्डारीका बारेमा बोल्न लाज लाग्नुपर्ने हो भनेर थकालीले टिप्पणी गरेका छन् ।

स्व.मदन भण्डारीको ‘जबज’लाई बिघठन गर्ने कार्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उत्तिकै हात रहेको उनले आरोप लगाएका छन् ।

‘आफ्नो पतिको राजनैतिक सिद्धान्तलाई बचाउने दायित्व विद्यादेवी भण्डारीको पनि हो’, कांग्रेस नेता थकालीले भने, ‘उहाँले पनि स्वार्थमा सबै कुरा भुल्नुभयो । त्यसले गर्दा ‘जबज’ र ‘एमाले’ भन्ने पार्टी बिघठन भएको छ । प्रजा परिषद् बनेको छ ।’

Published : Monday, 2020 June 29, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया