कांग्रेस नेता बस्नेतले आफै पीसीआर मेसिन किनेर निःशुल्क परीक्षण गर्ने, प्रहरीको बीमा गरिदिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरसको संक्रमण पीसीआर परीक्षण गर्ने मेसिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेसका नेता बस्नेतले शनिबार विज्ञप्ति जारी गरेर सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा रहेको अस्पताललाई पीसीआर परीक्षणको मेसिन उपलब्ध गराउने बताएका हुन् । उनले निःशुल्क रुपमा कोरोनाको नमूना परीक्षण गरिने समेत बताएका छन् ।

उनले बेसार र तातोपानी खाएर नभइ पीसीआर पद्धतिबाट कोरोनाको नमूना परीक्षण गरी सचेत भएर कोरोनाविरुद्धको लडाइँलाई जित्नुपर्ने बताएका छन् ।

‘बेसार र पानी खानु, हाछ्यु गर्नु, कोराना फाल्नु, घरमा बस्नु भन्ने जस्ता सरकारी रवैयाबाट उक्त समस्याको व्यवस्थापन र समाधान नदेखिएको परस्थितिमा जनस्तरबाट समेत सक्रिय भूमिका खेल्नुपर्ने देखिएकोले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ स्थित बाह्रबिसेको अस्पतालमा पीसीआर प्रविधिको अत्याधुनिक उपकरणको व्यवस्था गरी सिन्धुपाल्चोक जिल्लाका कोराना परीक्षण गर्नुपर्ने र गराउन चाहनु हुने सबै आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू आफ्नो जिल्लामा यो सेवा यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाइदिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, कांग्रेस नेता बस्नेतले विज्ञप्तिमा जनाएका छन् ।

उनले नेपालमा कोरोना महामारीको प्रकोप तीब्र गतिमा अनियन्त्रित ढंगले अगाडि बढिरेको परिस्थितिमा सरकारले कुनै पनि सावधानी अपनाउन नसक्नु नेपाल र नेपालीहरूका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

‘नेपालमा कोभिड– १९ को संक्रमण देखिएको आधा वर्ष वितिसक्न लाग्दा पनि एकतिहाई जिल्लाहरूमा पनि पीसीआर प्रविधिबाट स्वाव परीक्षण गर्ने व्यवस्था मिलाउन नसक्नु अर्को विडम्बना हो’, उनले भनेका छन् ।

‘विदेशबाट भित्रिनेहरूलाई उचित क्वारेन्टिनको व्यवस्था गर्न नसक्नु, संक्रमणको आशंका भएकाहरूको स्वाब परीक्षण समयमा हुन नसक्नु, कन्ट्रयाक ट्रेसिङमा ध्यान नदिनु, समयमा आवश्यक स्वास्थ्य सामग्रीको उपब्धता नहुनु, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको मनोबल बढाउने काम नगर्नु, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा शुरुदेखि नै भ्रष्टाचारको गन्ध आउनु आदि कारणबाट कोरोनाको महामारी भुसको आगो जस्तो भएर सल्किएको देखिन्छ’, नेता बस्नेतले भनेका छन् ।

कांग्रेस नेता बस्नेतले यसअघि जिल्लाभरिका ६३१ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गरिदिएका थिए ।

उनले नेपालकै पहिलो कोरोनाबाट मृत्यु भएकी ९ दिनकी सुत्केरी सावित्री तिमल्सिना चािलसेको नवजात शिशुलाई पौष्टिक आहारको लागि आफैले एक लाखको प्रबन्ध मिलाइदिएका थिए ।

शिशुलाई एक कक्षादेखि १२ कक्षासम्म पठाइदिने र त्यसपछि रोजगारीको व्यवस्था मिलाइदिने घोषणा पनि गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले अब एम्बुलेन्स चालकहरू र नेपाल प्रहरीको कोराना बीमा गरादिने घोषणा समेत गरेका छन् ।

यसअघि नेपाली कांग्रेस र यसका भ्रातृ शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरू मिलेर सिन्धुपाल्चोकमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र आमनागरिकलाई स्वास्थ्य सामग्रीहरू वितरण गर्दै आएको उनले बताएका छन् । अझै पनि यो कार्य जारी रहेको बताएका छन् ।

Published : Saturday, 2020 June 27, 3:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया