नेकपाकी महिला वडा सदस्य र प्रधानाध्यापक रङ्गेहात पक्राउ, सिन्धुलीकी एसपीले अनुसन्धान गरिनन्

सिन्धुली । सिन्धुली जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की महिला वडा सदस्य र निजी स्रोतका शिक्षक रातभरि एउटै कोठामा सुतेको फेला परेपछि हँगामा भएको छ ।

फिक्कल गाउँपालिकाको वडा नम्बर १ कि महिला वडासदस्य कोपिला (नाम परिवर्तन) र सोही वडाको प्राथमिक विद्यालयका प्रधानाध्यापक टीकाराम मगर खाङसाङको एउटा होटेलको कोठाबाट बिहीबार बिहान सात बजे पक्राउ परेका हुन् । उनीहरूका बीच लामो समयदेखि अनैतिकसम्बन्ध रहेको आरोप पक्राउ गर्ने स्थानीयहरूले लगाएका छन् । दुबै जना विवाहित हुन् ।

स्थानीयहरूले वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरलाई एकसाथ पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।

वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरविरुद्ध कसैले पनि उजुरी नदिएपछि प्रहरीले दुबैलाई गाउँपालिकाको जिम्मा लगाइदिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले खाङसाङको घटना आन्तरिक भएकोले प्रहरीले नहेरेको बताइन् । उनले भनिन्, ‘त्यो विषय उहाँहरूको आन्तरिक थियो । हामीले हेरेनौँ ।’

एसपी सिग्देलले वडा सदस्य र प्रधानाध्यापकको अनैतिक सम्बन्धका विषयमा अनुसन्धान गर्नुपर्नेमा त्यत्तिकै छाडिदिएकोमा स्थानीयहरू आक्रोशित भएका छन् । स्थानीयहरूले नेकपाको दवावमा एसपी सिग्देलले खाङसाङको घटनालाई त्यत्तिकै छाडिदिएको आरोप लगाएका छन् ।

वडा सदस्य कोपिला र प्रधानाध्यापक रातभरि सोही होटेलको एउटै कोठाभित्र सुतेको दुबैले प्रहरी समक्ष स्वीकार गरेका छन् । एउटै कोठाभित्र सुते पनि दुबैले अनैतिक सम्बन्ध नराखेको प्रहरीलाई बयान दिएका छन् ।

फिक्कल गाउँपालिकाको गाउँसभामा सहभागी हुन महिला वडा सदस्य कोपिला र विद्यालयका प्रधानाध्यापक मगर खाङसाङ आएका थिए । उनीहरू होटेलको एउटै कोठाभित्र रातभरि सुतेर अनैतिक कार्य गरेको थाहा पाएपछि स्थानीयहरू जम्मा भइ नियन्त्रणमा लिएर प्रहरी चौकी खाङसाङमा बुझाएका थिए ।

वडा सदस्य कोपिलाले आफूहरू एउटै कोठामा सुतेको स्वीकार गरेकी छिन् । कोपिलाले प्रधानाध्यापक मगरसँग नाम जोडेर आफ्ना पतिले कुटपिट गर्नुका साथै विभिन्न किसिमका लाञ्छाना लगाउने गरेको बताएकी छिन् ।

वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरको यौनकाण्ड लुकाउन गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले दवाव दिएकी थिइन् । उनले प्रहरीलाई फोन गरेर मुद्धा नलिएर दुबैलाई गाउँपालिकामा पठाउन भनेपछि कोपिला र मगरलाई गाउँपालिका पठाएको स्रोतले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सुनुवारले वडा सदस्य कोपिलाका पति र प्रधानाध्यापक मगरकी पत्नीलाई बोलाएर दुबैलाई सम्झाइबुझाइ गरेर घर पठाएकी थिइन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित कोपिला केही दिन अगाडि मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी थिइन् । प्रधानाध्यापक मगर पनि कोपिलासँग कांग्रेस पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका थिए ।

Published : Thursday, 2020 June 25, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया