कांग्रेस नेतृ डा.आरजु राणाको स्कुलको बिलले खैलाबैला, ‘मुर्गा’ बने अभिभावकहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणाको स्कुलले लकडाउनका बेला पनि यातायातको खर्च भनेर अभिभावकहरूसँग ढाड सेक्ने गरी पैसा असुलेकाे छ ।

ललितपुर जिल्लाको खुमलटारमा रहेको डा.राणाको युलेन्स स्कुलले अभिभावकहरूलाई लकडाउनका बेला पढाइ नभएको शुल्क समेत उठाएको छ ।

त्यति मात्रै होइन स्कुलले यातायात भाडा भनेर बिल अभिभावकहरूलाई थमाएको छ ।

काठमाडौं उपत्यकाभित्र युलेन्स स्कुल अत्यन्तै महँगो स्कुलका रुपमा परिचित छ । विवादमा आइरहने यो स्कुलले अभिभावकहरूलाई आतंकित नै तुल्याएपछि बिद्रोह शुरु भएको छ ।

कोरोना भाइरसका कारण देशभरिका सबै विद्यालयको पठनपाठन बन्द रहेका बेला डा.राणाको युलेन्स स्कुलले सिधै अभिभावकहरूलाई ‘मुर्गा’ बनाएको भन्दै असन्तुष्टिहरू आएका छन् ।

काठमाडौं उपत्यकाभित्रका अधिकांश निजी विद्यालयले पठनपाठन नै नभए पनि रकम तिर्न अभिभावकहरूलाई दवाव दिइरहेका छन् ।

युलेन्स स्कुलले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई पठाएको बिलमा यातायात खर्च शीर्षकमा १० हजार चार सय रुपियाँ राखेको छ ।

वैशाख, जेठ र असार गरी तीन महिनाको भनेर सो रकम जोडिएको छ ।

लकडाउनका कारण विद्यार्थीले एक दिन पनि युलेन्स स्कुलको गाडी चढेका छैनन् ।

अभिभावकलाई पठाइएको बिलमा ब्रेकफास्ट, ल्याब शुल्क, फिल्ड ट्रिपलगायत शीर्षकमा पनि रकम तोकिएको छ ।

युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले विद्यार्थीसँग यातायात शुल्क नलिएको दाबी गरेका छन् ।

नयाँ शैक्षिक सत्रको वैशाख, जेठ र असारको मासिक शुल्क २१ प्रतिशत घटाएर अभिभावकहरूलाई पत्र पठाइएको लामिछानेले बताएका छन् ।

Published : Thursday, 2020 June 25, 7:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया