प्रहरीद्वारा कांग्रेस केन्द्रीय सदस्यमाथि लाठी प्रहार, एक दर्जन नेताहरू पक्राउ

काठमाडौं । कम्युनिस्ट सरकारको निर्देशनमा दलित अधिकारकर्मी र विभिन्न राजनीतिक दलका नेताहरूको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरी लाठी प्रहार गरेको छ ।

जेठ १० गते रुकुम पश्चिमको सोतीमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविनका लागि संयुक्त राजनीतिक संघर्ष समितिले करीब एक महिनादेखि आन्दोलन हुँदै आएको छ ।

आन्दोलनका क्रममा उक्त घटनाको गलत पोष्टमार्टम तयार गर्ने चिकित्सकलाई कानूनी कारवाहीको माग गर्दै बुधबार कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापन बुझाउने क्रममा शान्तिपूर्ण धर्नामा बसेका जनप्रतिनिधिलार्ई प्रहरीले लाठी प्रहार गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार साँझ विज्ञप्ति जारी गरेर प्रहरीद्वारा गरिएको बलपूर्वक हस्तक्षेपप्रति कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘शान्तिपूर्वक ज्ञापन बुझाउन गएका व्यक्तिहरुलाई अन्धाधुन्ध लाठीचार्ज गरी बल प्रयोग गर्नु अत्यन्त निन्दनीय कार्य हो’, कांग्रेसका प्रमुख सचेतक खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यको नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ ।’

‘बुधबारको घटनाले वर्तमान सरकार स्वतन्त्र अभिव्यक्तिमा अंकुश लगाउने कार्यमा तल्लिन रहेको प्रष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले सबै नागरिकलाई मौलिक हक प्रदान गरेको छ । तर, वर्तमान सरकारले संविधानको भावना र मर्म विपरीतका कार्य गर्दै आएको छ ।’

‘शान्तिपूर्ण रुपमा ज्ञापन पत्र बुझाउन र धर्ना बस्न पाउने अधिकार माथि ठाडो हस्तक्षेप भएको छ’, खाँणले भनेका छन्, ‘नागरिकको मौलिक हक हनन नगर्न सरकारलाई नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ ।’

‘आजको घटनामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारलाई लाठी चार्ज गरी गम्भीर घाइते बनाएकोप्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले नेपाली केन्द्रीय सदस्य एवम् सांसद जीवन परियार, राजकुमार हिङ्माङ्ग, टेकबहादुर विश्वकर्मा, रणबहादुर रम्तेल, शर्मिला वागचन्द, सुनिता मरिक, राम नेपाली, नानीमैयाँ पुरकुटी, शोभा विश्वकर्मा, संघर्ष दाहाल, हिक्मत महरा, लक्ष्मी थापा, धर्म विडुवाल, दुर्गा विश्वकर्मालगायतलाई गिरफ्तार गरेको भन्दै कांग्रेसले खेद प्रकट गरेको छ ।

Published : Wednesday, 2020 June 24, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया