कांग्रेसको दवावपछि बन्यो संसदीय छानविन समिति, जर्‍याकजुरुक उठे सांसदहरू

काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको छ जनाको हत्या प्रकरण छानविन गर्न माग गरेपछि संसदीय छानविन समिति गठन गरेको छ ।

संसदको शुक्रबार बसेको बैठककमा शुरुमै बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदीय समिति गठन गरेर रुकुम पश्चिम हत्याको घटनाको संसदीय समितिले छानविन गर्नुपर्ने माग गरिन् । उनले रुकुम पश्चिमको घटनामा जाजरकोटका छ जनाको हत्या गरिएको बताइन् ।

पोस्टमार्टमले रुकुम पश्चिम घटनामा छ जनाको हत्या भएको पुष्टि भइसकेको उनले बताइन् । वडाध्यक्षको नेतृत्वमा छ जना युवाहरूको सामूहिक रुपमा हत्या भएको भन्दै सर्वदलीय संसदीय समिति बनाउन सचेतक भुसालले माग गरेकी छिन् ।

उनले गृहमन्त्री रामबहादुर थापा र महान्यायाधीवक्ता अग्नि खरेलले रुकुम पश्चिमको सामूहिक हत्यालाई निर्मला पन्त बलात्कार र हत्या जस्तै बनाउन खोजेको भन्दै आक्रोशित बनेकी छिन् । उनले रुकुम पश्चिमको घटनालाई निर्मला पन्तको जस्ता बनाउन खोजेको भन्दै सरकार र नेकपाका नेताहरूको आलोचना गरिन् ।

जातीय छुवाछुतको विषयलाई संविधानले नै उन्मुलन गरिसकेको भन्दै भुसालले जातभातको नाममा भएको हत्याको विरोध गरिन् । उनले राज्यबाट राजनीतिक खोलको आडमा दोषीलाई उन्मुक्ति दिन नपाउने बताइन् ।

संसदको शुरुमै कांग्रेससहित प्रतिपक्षमा रहेका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर समय माग गरेका थिए । त्यसपछि सभामुखले कांग्रेसकी सचेतक भुसाललाई बोल्न समय दिएका थिए ।

कांग्रेसका सांसदहरूले रुकुम पश्चिमको घटनामा भएको छ जनाको सामूहिक हत्याको विषयमा संसदीय समितिको छानविन माग गर्दै आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए ।

त्यसपछि सभामुखले कांग्रेसको मागअनुसार रुकुम पश्चिमको घटना छानविन गर्न संसदीय समिति गठन गर्ने बताएका थिए । रुकुम पश्चिमको घटनामा अब संसदीय छानविन समितिले छानविन गर्नेछ ।

Published : Friday, 2020 June 5, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया