मन्त्रीको स्वकीय सचिवलाई कोरोना, संसद बैठक स्थगित

काठमाडौं । प्रदेश २ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवलाई कोरोना संक्रमण भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उनमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वकीय सचिवमा कोरोनासम्बन्धी कुनै लक्षण नदेखिए पनि रिपोर्ट पोजेटिभ आएको राज्यमन्त्री यादवले बताइन् । उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।

प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो ।

रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।

बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

Published : Thursday, 2020 June 4, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया