जनता भोकै, कोरोना संक्रमित भैँसी गोठमा, दश अर्ब पचाउन दिँदैनौँः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उद्धार तथा राहत विरतणका नाममा दश अर्ब खर्च भएकोमा आश्चर्य व्यक्त गरेका छन् ।

रिपब्लिका दैनिकसँग बुधबार कुरा गर्दै खतिवडाले सरकारले कोरोनाको नाममा ब्रम्हलुट मच्चाएको बताए । ‘जनताले खान नपाएर भोकै मर्नु परेको छ । गरिवका चुल्होमा खानेकुरा पाक्न छाडेका छन्’, उनले भने, ‘कोरोना रोकथाम र नियन्त्रण गरेको भनिएको छ । तर, दिनदिनै कोरोना संक्रमितको संख्या बढेको छ । ९ जनाको मृत्यु भइसकेको छ । आखिर सरकारले दश अर्ब रुपियाँ कहाँ खर्च गर्‍यो छ ?’

क्वारेन्टाइनका नाममा भैँसी गोठमा लगेर कोरोनाका बिरामीलाई राखिएको टिप्पणी गर्दै खतिवडाले भने, ‘क्वारेन्टाइनको अवस्था बेहाल छ । कोरोनाका बिरामीहरू भैँसी गोठमा बस्न बाध्य छन् । उपचारका नाममा यति धेरै खर्च कसरी भयो ? हिसाव चाहिन्छ ।’

कांग्रेसका युवा नेता खतिवडाले सरकारले खर्च गरेको एक–एक विवरण सार्वजनिक गर्नुपर्ने बताए । उनले कांग्रेसले यो खर्चका बारेमा संसदमा समेत जवाफ माग्ने चेतावनी दिएका छन् ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, उद्धार र उपचार तथा राहत वितरणका नाममा ७२ दिनमा झण्डै दश अर्ब रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेपछि खतिवडाले आश्चर्य व्यक्त गरेका हुन् ।

कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा नगरपालिका÷गाउँपालिकाले गरी नौ अर्ब ८७ करोड रुपियाँ खर्च गरेको सरकारले जनाएको छ ।

कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब तीन करोड खर्च भएको छ । प्रदेशहरूबाट एक अर्ब आठ करोड र पालिकाहरुबाट दुई अर्ब ७६ करोड रुपियाँ खर्च भएको छ ।

Published : Thursday, 2020 June 4, 8:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया