कोरोनाका बिरामी भैँसी गोठमा, ‘कम्युनिस्ट’ सभामुखलाई पौने दुई करोडको गाडी

काठमाडौं । राष्ट्रपति कार्यालयमा महँगो गलैचा र बाथमुख तथा मन्त्रीनिवासमा जिमखानाको चर्चा सेलाउन नपाउँदै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले झण्डै दुई करोडको गाडी किनेका छन् ।

सभामुख शाहीले सुविधा सम्पन्न गाडी किनेका हुन् । त्यो गाडी चढेर सभामुख शाही सुर्खेत र दैलेखका गाउँ हिँड्न थालेका छन् ।

कर्णाली प्रदेशका जनता कोरोना भाइरसबाट बच्न अत्यन्तै जोखिममा रहेका क्वारेन्टाइन र अस्पतालमा रहेका बेला सभामुख शाहीले पौने दुई करोडको गाडी किनेर मोज गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सभामुख बनेका शाहीले गाडीको पैसा तिर्न कर्णाली प्रदेश सरकारलाई दवाव दिँदै आएका छन् ।

सभामुख शाहीले आर्थिक हैसियत र नियमावलीविपरीत गाडी खरिद गरेको आरोप छ । शाहीले काठमाडौंको युनाइटेड ट्रेड सिन्डिकेटबाट एक करोड ७२ लाखमा टोयोटा हाइल्यान्डर किनेका हुन् ।

सभामुखकै जिल्ला दैलेखमा क्वारेन्टाइन राम्रो नहुँदा भैँसीगोठमा सर्वसाधारण बस्न बाध्य छन् । तर, सभामुख शाही पौने दुई करोडको महँगो गाडी किनेर चढ्दै आएका छन् ।
सभामुखले शाहीले कर्णाली प्रदेश ००२ झ ००९३ नम्बरको त्यो गाडी काठमाडौंबाट आफै लगेका हुन् ।

Published : Wednesday, 2020 June 3, 6:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया