रुकुम पश्चिम घटनामा हराइरहेका छैटौँ युवकको शव भेटियो

जाजरकोट । रुकुम पश्चिमको सोती घटनामा हराइ रहेका युवकको शव फेला परेको छ ।

चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको हो ।

शाहीको शव मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ताको शव घटनास्थलभन्दा करीब २० किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताएका छन् । शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ ।

स्थानीयले शाहीको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् ।

स्थानीय छवि पन्तले मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको बताएका छन् ।

जाजरकोटबाट साथी नवराज बिककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए ।

घटनामा यसअघि ५ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

Published : Tuesday, 2020 June 2, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया