कम्युनिस्ट सांसद सुनुवारद्वारा आफ्नै सरकारकाे निर्देशन उल्लंघन, भित्तेपात्रो वितरणको उद्घाटन

ओखलढुंगा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले आफ्नै सरकारको निर्णयको उल्लंघन गरेका छन् ।

सरकारको निर्णय र निर्देशनलाई बेवास्ता गरेर कम्युनिस्ट सांसद सुनुवार ओखलढुंगामा पार्टीको कार्यक्रममा सहभागी भएका हुन् ।

सामाजिक दुरी कायम नगरी उनले गाउँ कमिटीले निकालेको भित्तेपात्रो बितरणको शुरुवात अर्थात उद्घाटन गरेर नेकपाका सांसद सुनुवार पुनः एक पटक चर्चामा आएका छन् । उनले पात्रो वितरण कार्यक्रमको उद्घाटन गरे ।

कम्युनिस्ट सांसद सुनुवारलाई उद्घाटन वा शुरुवात गर्ने कुरामा धेरै चासो रहने गरेको छ । उनले पिङ उद्घाटनदेखि मास्क लगाइदिने कार्यको समेत उद्घाटन गरेर रेकर्ड बनाइ सकेका छन् ।

कार्यक्रममा सहभागी हुँदा मास्क लगाउनुपर्नेमा कम्युनिस्ट सांसद सुनुवारले मास्क पनि लगाएका छैनन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले दुई महिनाभन्दा धेरै समयदेखि लकडाउन गरेको छ । एकआपसमा कम्तिमा दुई मिटरका दुरी बनाएर कार्यहरू गर्न सरकारले निर्देशन जारी गरेको छ ।

सरकारले कुनै पनि कार्यक्रम गर्दा पाँच जनाभन्दा धेरै जम्मा नहुन सूचना नै जारी गरेको छ । आफ्नै सरकार रहेका बेला सांसद सुनुवारले पासको पनि दुरुपयोग गरेको आरोप छ ।

कोरोना भाइरसका कारण लकडाउनका बेला अत्यावसेक बाहेक कुनै पनि व्यक्तिलाई सवारी पास नदिने गृह मन्त्रालयले भनेको छ । तर, कम्युनिस्ट सांसद सुनुवारले शक्ति र सत्ताको दुरुपयोग गरेर सवारी पास लिएर काठमाडौंबाट ओखलढुंगा आएको आरोप लागेको छ ।

ओखलढुंगा जिल्लाको सुनकोशी गाउँ कमिटीद्वारा प्रकाशित ०७७ सालको क्यालेण्डरलाई कम्युनिस्ट सांसद सुनुवारले बितरणको शुरुवात गरेको नेकपा कोशी गाउँपालिका कमिटीका एक नेताले जनाएका छन् ।

कार्यक्रममा नेकपाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत सुनकोशी नेकपा गाउँ कमिटीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

हुन त, कम्युनिस्ट सांसद सुनुवार कहिले पिङ उद्घाटन त कहिले मास्क लगाइदिएर उद्घाटन गर्दै आएको भनेर आलोचना हुने गरेको छ ।

प्रतिनिधि सभामा आर्थिक वर्ष ०७७–७८ को बजेटमाथिको छलफल छाडेर कम्युनिस्ट सांसद सुनुवार भित्रे पात्रोको वितरण शुरुवात गर्न ओखलढुंगा पुगेका हुन् ।

Published : Monday, 2020 June 1, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया