रुकुम पश्चिमको ‘नरसंहार’बारे गगन थापा बोल्दा संसदमा सन्नाटा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रुकुम पश्चिमको सोतीको घटनालाई नरसंहारको संज्ञा दिँदै घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।

संसदको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले संसदीय छानविन समिति नबनाउँदासम्म आवाज उठाइ रहने बताए । उनले सोतीको नरसंहारलाई ढाकछोप गर्न सत्तारुढ दलकै नेताहरू लागेको भन्दै आक्रोश पोखरेका छन् ।

‘संविधानमा स्वतन्त्रताको हक, समानताको हक, आत्मसम्मानका साथ बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हकदेखि दलितको हकसम्म सबै लेख्यौँ, कानून बनायौँ भनेर गर्भ गरिरहँदा रुकुम पश्चिमको सोतीको नरसंहारले यस्तो गर्भ गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिदियो’, सांसद थापाले भनेका छन् ।

उनले भने, ‘यस्तो अमानवीय र क्रुर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरूलाई देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहँकारको ढाकछोप गर्न भइरहेको संगठित प्रयास र प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्न पनि लाज पनि हामीसँग लगाउँछ ।’

‘अनुहारको दाग ऐना पुछेर जाँदैन’, थापाले भने, ‘रुकुम पश्चिमको नरसंहार लगायत यो कडाउनको अवधिमा मात्रै जातीय विभेदको कारणले ३२ जनाभन्दा बढी हत्या, आत्महत्या, बलात्कारको घटनाको छानविन गर्न अबिलम्ब सर्वदलीय संसदीय छानविन समिति बनाउन जोडदार माग गर्दछु ।’

‘र यो पनि जानकारी गराउँछु सम्मानित सदनले यो नबनाएसम्म हामी यो मागिरहने छौँ । न्यायको पक्षमा बोलिरहने छौँ । लडिरहनेछौँ’, कांग्रेसका सांसद थापाले भनेका छन् ।

Published : Monday, 2020 June 1, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया