नेपालमा मृत्यु हुनेको संख्या ८ पुग्यो, काठमाडौंको निजी अस्पतालमा मृत्यु भएकाको परीक्षण हुँदै

काठमाडौं । नेपालमा दुई वर्षीया बालिका र ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

योसँग कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले बाजुरा जिल्लामा दुई वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको बताए ।

‘दुई वर्षीया बालिका आमाबाबुसहित भारतबाट आठ दिन अगाडि नेपाल आएर बाजुरा जिल्लामा क्वारेन्टाइनमा बस्नु भएकी बालिकालाई ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापखाला भएपछि जेठ १५ गते बाजुरा अस्पतालमा भर्ना गरिएको थियो’, डा.देवकोटाले भने, ‘आइतबार बिहान साढे दुई बजे बालिकाको मृत्यु भएको छ । उहाँको पोजेटिभ आएको छ ।’

दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर ७ पटाङगिनीमा रहेको क्वारेन्टाइनमा शनिबार दुल्लु नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको डा.देवकोटाले बताए ।

दुई जनासहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

त्यसैगरी डडेल्धुरामा ६ वर्षीय, गुल्मी जिल्लामा ५६ वर्षीय पुरुषद्वारा आत्महत्या र काठमाडौंको निजी अस्पतालमा एक जनाको मृत्यु भएको भन्दै प्रवक्ता डा.देवकोटाले उनीहरू सबैको नमूना परीक्षण भइरहेको बताएका छन् ।

Published : Sunday, 2020 May 31, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया