कर्मचारीको हाेइन राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको भत्ता काट्नुपर्छः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा ल्याइएको बजेटले ग्रामीण क्षेत्रका युवाहरूका विषयमा ध्यान दिन नसकेको भन्दै चिन्ता जनाएका छन् ।

सरकारको तर्फबाट अर्थमन्त्री खतिवडाद्वारा बिहीबार संसदमा पेश गरिएको बजेटबारे टिप्पणी गर्दै कांग्रेस नेता खतिवडाले रोजगारीका विषयमा बजेटले ध्यान दिन नसकेको बताए ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिँदै बजेट बढाइएकोमा आशंका जनाए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा विगतमा झार गोडर नेकपाका कार्यकर्तालाई पैसा बाँड्ने कार्य गरिएको छ’, कांग्रेस नेता खतिवडाले भने, ‘कोरोना भाइरसको संक्रमणका कारण जनता जनता जोखिममा परेका छन् । धेरैले रोजगारी गुमाएकालाई कसरी रोजगारी दिने भन्नेबारे स्पष्ट कुराहरू आएका छैनन् ।’ उनले कार्यकर्तालाई पैसा बाँड्ने कार्य भयो भने त्यसले जनतामा निराशा ल्याउने बताएका छन् ।

निजामती कर्मचारीहरूप्रति निर्मम बनेको बजेटले सरकारको लक्ष्य प्राप्त गर्न नसक्ने कांग्रेस नेता खतिवडाले बताए । उनले भने, ‘कोरोना महामारीका कारण नेपाल मात्रै होइन विश्व नै संकट परेका बेला अर्थमन्त्रीजीले २.३ प्रतिशतले आर्थिक वृद्धि हुने बताउनुभएको छ । त्यो सम्भावना मैले देखेको छैन ।’

स्वास्थ्य क्षेत्रमा बजेट बढाएको देखिए पनि कार्यान्वयनमा चुनौती रहेको कांग्रेस नेता खतिवडाले बताएका छन् । उनले निजामती कर्मचारीहरूको भत्ता लगायतका फजुल खर्च कटौती भए पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र पूर्वपदाधिकारीहरूको फजुल खर्चका बारेमा पनि अर्थमन्त्रीले ध्यान दिन नसकेको बताएका छन् ।

काेराेना संकटका बेला कर्मचारीहरूकाे मनाेबल उच्च बनाएर राजश्व संकलनकाे लक्ष्य प्राप्त गर्न सकिने भन्दै कांग्रेस नेता खतिवडाले बजेटले कर्मचारीकाे मनाेबल कम्जाेर बनाएकाे बताए ।

बजेटले जति नै महत्वकांक्षा राखे पनि राजश्व संकलनमा अर्थमन्त्रीले सोँचअनुसार उठाउन सक्ने गरेर कार्यक्रम र योजना ल्याउन नसकेको उनले बताएका छन् ।

सांसद विकास पूर्वाधार कार्यक्रमको बजेट पूर्ण रुपमा रोक्न भनेर जनस्तरमा आएको दवावलाई अर्थमन्त्रीले कटौती गर्न नसकेको भन्दै कांग्रेस नेता खतिवडाले असन्तुष्टि जनाए ।

Published : Thursday, 2020 May 28, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया