कम्युनिस्ट सरकार प्रोपोगण्डामा लाग्यो, कांग्रेस नक्साको विपक्षमा जाँदैनः शर्मा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीको सरकार राष्ट्रियताको विषयमा प्रोपोगण्डाको राजनीतिमा लागेको आरोप लगाएको छ ।

कांग्रेसको पार्टी मुख्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई बदनाम गराउन मन्त्री र मुख्यमन्त्रीहरू नै सक्रिय भएर लागेको बताए ।

‘राष्ट्रियताको विषयमा सरकार प्रोपोगण्डाको राजनीतिमा संलग्न भएर त्यसलाई सबैको साझा स्वामित्वको बोधका साथ अयोग्य प्रमाणित भएको छ’, उनले भने, ‘कोरोनाको सम्बन्धमा सरकार गम्भीर बनोस् । नेपाल र नेपालीको रक्षामा पनि सरकार गम्भीर बनौँ ।’

‘लिपुलेक, लिम्पयाधुरा र कालापानी नेपालको आफ्नो भूमिमा आफ्नो अधिकार स्थापित गर्ने सन्र्दभमा सरकारले जारी गरेको नक्सालाई संयुक्त स्वामित्वबोध राख्दै यसलाई संसदबाट पारित गर्दै गर्दा साझा सहमति निर्माण गर्न सक्ने गरी कोही नेपाली पनि कुनै दल पनि राष्ट्रिय मुद्धामा एक ठाउँमा उभिनेभन्दा फरक खालको नबन्न दिन सरकार गम्भीर बनोस् हामीले अपील र आग्रह गरेका छौँ’, प्रवक्ता शर्माले भनेका छन् ।

‘कांग्रेसले उग्र अभिव्यक्तिको विषयलाई भन्दा अभिव्यक्तिमा उग्रता होइन, कर्तव्यमा तिब्रता भन्ने हाम्रो राय धारणालाई सार्वजनिक गरेका छौँ । नक्सा जारी भएको छ’, शर्माले भने ।
‘त्यसमा पार्टीले जारी गरेको सकारात्मक दृष्टिकोण, सर्वदलीय बैठकमा पार्टीको सभापति शेरबहादुर देउवा आफू स्वयं उपस्थित भएर त्यो नक्साप्रति रहेको हाम्रो समर्थनलाई कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट संस्थागत निर्णय गरेर जवाफ दिने विषय सबैलाई जानकारी छ’, उनले भने ।

‘कांग्रेसको बैठक बस्ने र यसबारे निर्णय गर्ने भन्ने एउटा जिम्मेवार राजनीतिक दलका रुपमा कांग्रेसको घरायसी विषय हो नै’, प्रवक्ता शर्माले भने, ‘केवल घरायसी विषय मात्रै नभएर राष्ट्रियता जस्तो विषयमा हरेक दलभित्र साझा स्वामित्व बोध हुन सकोस् ।’

‘हरेक राजनीतिक दलहरूले साझा दृष्टिकोण निर्माण गरेर नक्सा संसदबाट पारित हुँदै गर्दा कसैले त्योभन्दा फरक रुपमा उभिने खालको अवस्था नबनोस् भनेर सन्देश दिने प्रयत्न साझा ढंगले नेतृत्व गर्न प्रयत्न गरिरहँदा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बोलाउने भनेका छौँ’, शर्माले भनेका छन् ।

‘कांग्रेसको कार्यसमितिको बैठक बसेर संस्थागत रुपमा निर्णय गर्नुपूर्व नै यसबारेमा कांग्रेसले के मत राख्छ ? भन्ने विषयको सन्दर्भमा पार्टीको पदाधिकारीको बैठकमार्फत होस् या हाम्रा अभिव्यक्तिमार्फत होस् यस विषयमा हामीले सार्वजनिक गरिसकेका छौँ’, उनले भनेका छन् ।

‘सर्वदलीय बैठकमा सहभागी भएर कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत रुपमा निर्णय गर्नेछ भनेर भन्नुको अर्थ हामीलाई समय दिइयोस् भनेर हामीले समय माग गरेको होइन’, शर्माले भने, ‘कांग्रेसले संस्थागत रुपमा आफ्नो निर्णय गर्न तर्फ जाँदै गर्दा संसदमा शुरु भएको प्रक्रियालाई अबरुद्ध गरिनुपर्छ भन्ने हाम्रो कुनै माग, हाम्रो कुनै अपेक्षा बिल्कुलै थिएन ।’

‘संसदमा कार्यसूचीमा हटाइनुपर्छ भन्ने कांग्रेसको अभिव्यक्ति थियो, कांग्रेसको आग्रह थियो भन्ने ढंगले सरकारका मन्त्रीजीहरूले सत्तारुढ दल निकट रहेको एकजना मुख्यमन्त्रीजीले भन्नुभएको विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘कांग्रेसको धारणालाई व्यक्त गर्नलाई, कांग्रेसको धारणालाई ब्याख्या गर्नलाई, कांग्रेसले कम्युनिस्टका कुनै मन्त्री, कम्युनिस्ट पार्टीको मुख्यमन्त्रीलाई पार्टीको सहायक प्रवक्ताका रुपमा नियुक्त गरेको छैन’, शर्माले भने ।

‘कांग्रेसको जे धारणा हो । पार्टी सभापतिको ट्वीटमार्फत, वक्तव्यमार्फत पनि आएको छ । पदाधिकारी बैठकबाट पनि आएको छ’, उनले भने, ‘प्रवक्ताको वक्तव्यबाट पनि आएको छ । कि प्रवक्तालाई सोध्नुस्, पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई पर्खनुस् भनेर यसबीचमा हामीले सार्वजनिक अपील पनि गरेका छौँ ।’

‘कांग्रेसको धारणाका बारेमा गलत इन्टरप्रेटेशन गर्ने कुरामा कोही पनि नलाग्नलाई कम्युनिस्ट पार्टीको सरकारसँग नजिक रहनु भएका मन्त्रीजीहरू मुख्यमन्त्रीजीहरू कांग्रेस पार्टीको केन्द्रीय कार्यालयबाट म चुनौतीका साथ उहाँहरूलाई आफ्नो पार्टीको विषयमा आफ्नो अभिव्यक्तिलाई राख्नुस्’, उनले भनेका छन् ।

‘कांग्रेसले निर्णय गर्ने प्रक्रियाको सम्बन्धमा प्रश्न नउठाउनुस् म आग्रह गर्नु चाहन्छु । हामी यो विषयमा प्रष्ट छौँ’, उनले भने, ‘राष्ट्रियताको विषयमा आरोप प्रत्यारोपबाट होइन, राष्ट्रियताको विषयमा एकआपसको साथमा उभिएर, एकबद्ध भएर, कदममा कदम मिलाएर राष्ट्रिय भावनालाई, राष्ट्रिय एकताको अभिव्यक्तिलाई बलियो बनाउन सकिन्छ ।’

‘हाम्रो सामू केवल नक्सा लिएर मात्रै जिम्मेवारी पूरा हुन्छ भन्ने होइन । हामी सर्तक छौँ । नक्सा हाम्रो हातमा हुँदै गर्दा जमीन पनि हाम्रो हातमा हुने हो भने राष्ट्रिय एकताको अभिव्यक्तिका साथ हामी अगाडि बढ्नुपर्छ’, शर्माले भने, ‘यो विषयमा कांग्रेसले सरकारले राख्नुपर्ने जिम्मेवारी पूर्ण रुपमा राख्नुपर्छ ।’

‘प्रधानमन्त्रीले भन्नुभयो सर्वसम्मतिका साथ यसलाई पारित गरेर जाऔँ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई हामी सम्मान गर्छौं’, उनले भने, ‘त्यो रुपमा पारित गरेर जाने विषयमा उहाँको पहल कदमी जति देखिएको छ त्योभन्दा बढी कांग्रेस यसमा गम्भीर देखिएको छ ।’

‘नक्साको विषयमा कसैले दुविधा नमान्नुभए हुन्छ, जुन भूगोल कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको हो’, उनले भने, ‘त्यो भूभागमा नेपालको अधिकार स्थपित हुनुपर्छ जुन राजनीतिक दलले भनि आएको छ त्यो राजनीतिक दल त्यो नक्साको सन्दर्भमा प्रष्ट रुपमा संसदमा पक्षमा उभिन्छ । त्यो उभिने भन्ने सन्दर्भमा संस्थागत निर्णय गर्ने पक्षलाई कांग्रेसले हाम्रो अधिकारको विषयलाई स्मरण गर्न चाहन्छौँ ।’

‘संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक जेठको ११ गते बसेको थियो’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘बैठकले जेठको १३ गते संसदको बैठक प्रारम्भ हुने, १४ गते ग्याप रहने र १५ गतेका दिन बजेट प्रस्तुत गर्नका लागि बैठक बस्ने गरी १३ र १५ गतेका लागि कार्यक्रम निर्धारित गरेको थियो । कार्यव्यवस्था समितिको माइन्युटमा या कार्य व्यवस्था समितिको सार्वजनिक भएको सूचनामा यो विवरण उल्लेख छ ।’

‘सभामुखले एकाएक अघिल्लो दिन दुई बजेका लागि सूचित गर्नुभयो र यो सम्भावित कार्यसूची थियो । कार्यसूचीमा परिसकेको थिएन’, उनले भने, ‘कार्यसूचीमा राख्दै गर्दा सम्वाद गर्नु नपर्ने, हामीले प्रश्न त गरेका थिएनौँ । सल्लाह नगर्नुपर्ने, हामीले प्रश्न त गरेका थिएनौँ । तर, त्यसलाई हटाउँदै गर्दा कांग्रेसलाई गाँस्नु पर्ने ? यो विषय गम्भीर छ ।’

‘छ महिना गुज्रदै गर्दा पनि कम्युनिस्ट पार्टीको सरकारले नक्सा जारी गरेन । कांग्रेसको मंसिर १० गतेको विज्ञप्ति मार्फत बास्तविक नक्सा खोइ सरकार भनेर प्रश्न उठाएका थियौँ’, शर्माले भनेका छन्, ‘संसदीय समितिले पनि नक्सा माग्यो । बाध्य भएर छ महिनापछि सरकारले नक्सा जारी ग¥यो । नक्सा जारी भएको विषय केवल सरकार वा प्रधानमन्त्रीजीको अपेक्षा, चाहना या नेतृत्वको विषयमा मात्रै होइन ।’

‘सबैको आग्रह र सुझावमा नयाँ नक्सा जारी भएको हो । कांग्रेसले नेतृत्व गर्दा राष्ट्रिय विषयहरू निस्कर्षमा पुगेका छन्’, उनले भने, ‘कम्युनिस्ट पार्टीले धेरै अगाडि लेख्यो दस्तावेजमा गणतन्त्र । तर, जब कांग्रेसले निर्णय गर्‍यो तब गणतन्त्रतर्फ यो मुलुक लम्कियो । र मुलुकले गणतन्त्र प्राप्त गर्‍यो । चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्नुभयो । जब कांग्रेसले नेतृत्व गर्‍यो तब यो देशले संविधान प्राप्त गर्‍यो ।’

‘सबैको दवावमा यो सरकारले नक्सा ल्यायो, यो जुन बेला पारित हुनेछ जनु बेला कांग्रेसको कार्यसमितिले निर्णय गरिसकेर हामी संसदमा राष्ट्रियताको पक्षमा उभिने छौँ त्यस बेला यो नक्सा पारित हुनेछ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हुन् । हामीले विगतदेखि राख्दै आएको धारणा छ । कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ’, शर्माले भने, ‘ती भू–भागहरूमा नेपालको हक निर्वाध रुपमा कायम रहनुपर्छ ।’

कांग्रेसका प्रवक्ता शर्माले कोरोनाको विषयमा सरकार असक्षम भएको बताए । ‘संक्रमितको संख्या हजार पार गर्दै छ । ब्यापक परीक्षणमा सरकार देखिएको छैन’, उनले भने, ‘क्वारेन्टाइन मापदण्डयुक्त बनाउने कुरामा सरकार भेटिदैन । राहत पर्याप्त पु¥याउने अवस्थामा सरकारको जवाफदेहिता देखिदैन ।’

‘विदेशमा रहेका नेपाली उद्धार गर्ने सवालमा पनि सरकार भेटिदैन । सीमामा रहेका नेपालीलाई ह्वारह्वारती प्रवेश गराउने ? भन्ने प्रधानमन्त्रीले अहिले सीमामा आउँदै गरेका नेपालीलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने, परीक्षण गराएर घर पु¥याउने कुरामा सरकार देखिदैन’, उनले भने, ‘सरकार यो विषयमा कमजोर र दृष्टिविहीन बनेको छ । दृष्टिकोण र कार्यक्रम विहीन छ । सरकार असफल भएको छ ।’

Published : Thursday, 2020 May 28, 4:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया