ओलीको राष्ट्रवादमा राजेन्द्र महतोको खुलासाले देशभरि खैलाबैला, चकित परे कम्युनिस्टहरू

काठमाडौं । राष्टिय जनता पार्टी नेपाल (राजपा)का नेता राजेन्द्र महतोले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको राष्ट्रियतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतोले भारतसँग महाकाली सन्धी गर्ने बेला ओलीले गम्भीर गल्ती गरेको बताए । उनले सन्धी गर्ने बेला महाकाली नदीको मुहान कहाँ छ भनेर ओलीले किन ध्यान नदिएको भनेर प्रश्न गरेका छन् ।

‘अहिलेका प्रधानमन्त्री केपी ओलीले त्यस बेला महाकाली सन्धी गर्दा के हेर्नुभएको थियो ?’, राजपाका नेता महतोको प्रश्न छ, ‘त्यो बेला महाकालीको मुहान काहाँ थियो भनेर किन खोजिएन ?’

भारतसँग महाकाली सन्धी गर्ने बेला तत्कालीन एमालेका नेताहरू माधवकुमार नेपाल, खड्गप्रसाद ओली, विद्यादेवी भण्डारीसहितका नेताहरूले समर्थन जनाएका थिए ।

महाकाली सन्धीको समर्थन गरेको भन्दै तत्कालीन एमालेका नेताहरू बामदेव गौतम, सीपी मैनाली, आरके मैनालीलगायतले विरोध गरेर पार्टी नै विभाजन गरेका थिए । ओलीमा पछिल्लो समय देखिएको राष्ट्रियताले नोक्सानी गर्ने संकेट महतोको थियो ।

महतोले देशको भूमि र सीमा जस्तो विषयमा जनताका आधिकारलाई संविधानमा व्यवस्थित र सुरक्षित बनाएर राष्ट्रलाई एक बनाएर लानुपर्ने बताए ।

राजपाका नेता महतोले लिम्पियाधुरा, कालापानी र लिपुलेक ५० वर्षसम्म अहिलेका राजनीतिक दलका नेताहरू किन खोजेनन् भनेर प्रश्न पनि गरेका छन् । उनले दलका नेताहरूलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।

‘राष्ट्रघातीहरूले किन नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी ५०औँ वर्षसम्म खोजेनन् ?’, उनले भने, ‘पहिले नेपालको नक्सामा भएको यी भूभागहरू पछि कसरी बेचिए ? अहिलेफेरि कसरी आयो ? यो खोक्रो राष्ट्रवाद हैन र ?’

उनले ७० वर्षपछि संविधान सभामार्फत बनेको सातौँ संविधानमा शासकहरूले आफ्नो गोरुको बाह्रै टक्का गरेर एक्लै अगाडि जान खोजेको आरोप लगाएका छन् ।

‘राष्ट्रिय एकता भएन भने निशान चिन्ह राख्दैमा भूमि फिर्ता आउँदैन’, उनले भने । महतोले भारतसँग कुटनैतिक रुपमा सार्थक वार्ता गर्न पनि सुझाव दिएका छन् ।

महतोले अहिलेको सत्ता नक्सलवादी सोँचले भरिएको बताएका छन् । ‘यो संविधानलाई सबैको संविधान बनाउन संशोधन गर्ने पक्षमा देखिएको छैन’, उनले भनेका छन् ।
‘संविधान संशोधन गर्दा यहि समयमा हामीले उठाएका विषय पनि ल्याउनुपर्छ’, उनले भने, ‘संविधान एकै पटक प्याकेजमा संशोधन गरी जानुपर्छ ।’

‘नक्सलवादी भाव लिएर जानु हुँदैन । जनताको पहिचान र अधिकारलाई पनि लानुपर्छ’, महतोले भने, ‘प्याकेजमा नगइ संविधान संशोधन हुनसक्दैन ।’

राजपा नेता महतोले अहिले भूमिलाई मात्रै राष्ट्रियताभन्दै जनता राष्ट्रियता हैन भन्नु गलत भएको बताए । उनले राष्ट्रियता बलियो बनाउन संविधान सर्वस्वीकार्य हुनुपर्ने बताएका छन् ।
महतोले संविधानकै कारण गणतन्त्रले प्राप्त गरेका उपलब्धिको उपभोग र कार्यन्वयन नभएको बताए ।

‘जुन आशा र विश्वाका साथ नेपाली जनता लडेर मरेका थिए त्यसको प्रतिफल जनताले पाउन सकेका छैनन्’, उनले भने, ‘संविधान निमार्ण गलत तरिकाले भएको र जनताको मतलाई नसमेटिएकाले तल परेका सबैले यो संविधानमा आफ्नो अधिकार पाएका छैनन् ।’

‘संविधान निर्माणको आरम्भबाटै गणतन्त्रको उपेक्षा शुरु भएको हो’, उनले भने, ‘पीडित वर्ग, जनजाती, मधेशी लगायत धेरैमा यो संविधानमा बेइमानी गरिएको छ ।’

‘आन्दोलन गर्दा अब नेपालमा कुनै प्रकारको विभेद हुँदैन भनेका थिए’, उनले भने, ‘दुभाग्य संविधान बनाउने बेला हामीलाई पाखा लगाइयो ।’

Published : Thursday, 2020 May 28, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया