सर्वदलीय बैठकमा कांग्रेसले माग्याे समय, तत्काल संविधान संशोधन नहुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक रहेको भन्दै संविधान संशोधनका लागि केही दिनको समय माग गरेको छ ।

बालुवाटारमा मंगलबार बसेको बैठकमा कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति रहेको भन्दै राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गर्न केही समय माग गरेको हो ।

कांग्रेसको यो मागसँग तत्काल संविधान संशोधन नुहेन भएको छ । कांग्रेसले संविधान संशोधनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । त्यसपछि मात्रै संविधान संशोधन गर्न माग गरेको थियो ।

बैठकमा संविधान संशोेधनका लागि प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउन प्रस्ताव गरेका थिए । जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने भएकाले केही दिनको समय दिन आग्रह गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भएको भन्दै त्यसका लागि कांग्रेसले साथ दिने बचन दिएको बताए । उनले कांग्रेस केन्द्रीय समिति बैठकमा यसबारेमा निर्णय हुने बताए ।

बैठकमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता महन्थ ठाकुरले संविधान संशोधन गर्दा आफ्ना मागहरू पनि समेट्न आग्रह गरेका छन् ।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी भएका थिए ।

सरकारले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भू–भाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

नयाँ नक्सा कार्यान्वयनका लागि सरकारले संसद सचिवालयमा संविधान संशोधनको लागि प्रस्ताव दर्ता गराएको छ ।

Published : Tuesday, 2020 May 26, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया