रुकुम आक्रमण पूरै गाउँ समाजलाई बदनाम गराउने घटना, दोषीलाई जोगाउन षड्यन्त्रः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिमको घटनालाई नृशंस हत्याकाण्डको संज्ञा दिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरेर नृशंस हत्याकाण्डका दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

‘रुकुम पश्चिमको नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुम पश्चिमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेकोे छ’, उनले भनेका छन् ।

‘घटना गम्भीर छ र यसले केही गम्भीर प्रश्नहरू उब्जाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर कुनै मोलाहिजा बेगर दोषीलाई कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ ।’

कांग्रेसका प्रवक्ता शर्माले यो घटनाले सामाजिक विभेद र बिसंगतिको विषयमा गम्भीर प्रश्न उठाएको बताएका छन् ।

‘कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद् छ’, शर्माले भने, ‘कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ ।’

कांग्रेसले भनेको छ, ‘प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरूलाई दण्डित गर्न कांग्रेस माग गर्दछ ।’

राज्य प्रशासनको भूमिकामा प्रश्न उठेको भन्दै प्रवक्ता शर्माले भनेका छन्, ‘लक डाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो ।’

‘राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रीय सरकारको धारणा माग गर्दछ’, शर्माले भनेका छन् ।

‘केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत हामीले पाएका छौं’, प्रवक्ता शर्माले भने, ‘जातीय विभेदको संकुचित मनोविज्ञानले निहत्था युवाहरूमाथि आक्रमणको कार्य गर्ने जो कोही हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ ।’

‘घटनामा जीवन गुमाएका नवराज बिक, टीकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेस भेरी नदीमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकार समक्ष आग्रह र माग गर्दछ’, शर्माले भनेका छन् ।

नेपाली कांग्रेसले घटनामा घाइते भएका युवाहरूको शीघ्र स्वास्थलाभको कामना गरेको छ ।

Published : Tuesday, 2020 May 26, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया