कम्युनिस्ट सांसदले रुकुम हत्याबारे विवादास्पद अभिव्यक्ति दिएपछि कांग्रेसद्वारा हँगामा, बैठकभित्रै भनाभन

काठमाडौं । सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद जनार्दन शर्माले रुकुम पश्चिमको दलित हत्या प्रकरणको विषयमा जथाभावी बोलेर दोषीहरूलाई बचाउने गरेर अभिव्यक्ति दिएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा हँगामा मच्चाएको छ ।

प्रतिनिधि सभाको मंगलबार बसेको संसदको बैठकमा नेकपाका सांसद शर्माले दलित युवा नवराज बिकसहित तीन जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएका विषयमा विवादास्पद अभिव्यक्ति दिएका थिए ।

त्यसपछि नेपाली कांग्रेसका सांसदहरूले दोषीलाई बचाउने गरेर नेकपाका सांसद शर्माले अभिव्यक्ति दिएको भन्दै संसद बैठकमा नाराबाजी गर्नुका साथै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेका थिए ।

रुकुम पश्चिमबाट संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसद शर्माले दलितहरूकै दोष रहे जसरी अभिव्यक्ति दिन नमिल्ने नेपाली कांग्रेसका सांसदहरूले आरोप लगाए ।

नेकपाका सांसद शर्माले आफू रुकुम पश्चिमको जनप्रतिनिधि भएको भन्दै संसदमा बोल्न पाउनुपर्ने माग राखेका थिए ।

कम्युनिस्ट सांसद शर्माले दलित युवाहरू भेरी नदीमा हामफालेकाे भन्ने जस्ता विवादित बयान दिएपछि कांग्रेसका सांसदहरू रिसाएका हुन् ।

नेकपाका सांसद शर्मा र नेपाली कांग्रेसका सांसदहरूबीच भनाभन भएको थियो । सभामुख अग्नि सापकोटालाई संसद बैठकमा शर्मा र कांग्रेसका सांसदहरूबीच भनाभन भएपछि बैठक सहज बनाउन हम्मेहम्मे परेको थियो ।

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले जाजरकोट जिल्लाका पूर्व गृहमन्त्री र रुकुम पश्चिमका पूर्व गृहमन्त्रीले घटनालाई दवावउन के–के गरेको छन् त्यसबारे हामीलाई पनि जानकारी रहेको भन्दै आपत्ति जनाए । उनले दलितमाथिको जातीय नरसंहारलाई दवाउन र दोषीलाई बचाउन सत्तारुढ नेकपाका नेताहरू सक्रिय भएको आराप लगाए ।

Published : Tuesday, 2020 May 26, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया