रुकुम पश्चिममा जातीय नरसंहार भएको छ, संसदीय समिति बनाऔँः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा जातीय नरसंहार भएको भन्दै नवराज बिक हत्या प्रकरण छानविन गर्न संसदीय छानविन समितिको माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलबार बसेको प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले शुरुमै समय लिएर बोल्दै रुकुम पश्चिममा भएको घटनालाई जातीय नरसंहारको संज्ञा दिए । उनले आफैले मतदान गरेका जनप्रतिनिधिको नेतृत्वमा दलितको हत्या भएको बताए ।

‘रुकुम पश्चिममा जातीय नरसंहार भएको छ’, उनले भने, ‘रुकुम पश्चिमको घटनाका दोषीलाई कारबाही गर्नुपर्छ । राजनीतिक दवाव र प्रभावमा पारेर दोषीलाई बचाउने प्रयास नहोस् ।’

‘त्रिशूलमा बस खस्दा सरकारले रातारात छानविन गर्न आयोग र समिति बनाउँछ । सेना र प्रहरी परिचालन गर्छ । गोताखोर परिचालन गर्छ’, विश्वकर्माले भने, ‘रुकुम पश्चिममा नरसंहार भएको छ । तीन जनाको शव भेटिएको छ । तीन जनाको शव बेपत्ता छ । खोज्नका लागि प्रयासहरू किन हुँदैन ?’

‘रुकुम पश्चिममा सुष्मा मल्ल र नवराज विश्वकर्माको एक वर्षदेखि प्रेमसम्बन्ध रहेको थियो । त्यस बेला उमेर नपुगेको भनेर केटा र केटीलाई प्रहरीले कागज बनाइदिन्छ’, उनले भने, ‘केटीका आमाबुबाले युवतीको विवाह विवाह गरिदिन लागेपछि नवराज बिकलाई लिन बोलाइन्छ ।’

उनले भने, ‘नबराज बिक सुष्मा मल्ललाई लिन आफै जान्छन्, सोतीमा । सुमाकी आमाले हारगुहार गर्छिन् । नेकपा निकटका वडाध्यक्ष डम्बरबहादुर मल्ल आउँछन् ।’

‘गढीमाइको मेलामा राँगा काटे जस्तै घेरा हालेर चार किलो मिटर लखेटेर मारिएको छ’, कांग्रेसका सांसद विश्वकर्माले भने, ‘केही मान्छे आत्तिएर भेरी नदीमा हामफालेको छ । तीन जनाको शव भेटिएको छ । तीन जना वेपत्ता भएका छन् ।’

‘प्रहरीमा उजुरी गर्न जाँदा प्रहरीले अलमलाएको छ । राजनीतिक दवावमा त्यहाँको प्रशासन छ’, उनले भने, ‘लोकतन्त्र र गणतन्त्र ल्याउन रुकुमका पाँच सय दलितले ज्यान गुमाएका छन्’, उनले भने, ‘इतिहासको कहाली लाग्दो र डरलाग्दो नरसंहसार भएको छ ।’

‘जसलाई मतदान ग¥यौँ । तिनकै पार्टीका मानिसहरू संलग्न छन् । उनीहरूबाट राजनीतिक दवाव र प्रभावमा यो मुद्धालाई तोडमोड गर्न खोजिदै छ’, उनले भने, ‘बेपत्ता खोजी, मृतकका परवारलाई राहत, घाइतेको उपचार, पक्राउ गरेर कारबाही गर्नुपर्छ ।’

‘प्रतिनिधि सभाबाट संसदीय समिति गठन होस्’, कांग्रेसका सांसद विश्वकर्माले भने, ‘संकास्दपद व्यक्तिलाई कारबाही होस् । राजनीतिक आस्था र दवावमा दोषीलाई छाड्ने काम नहोस् ।’

Published : Tuesday, 2020 May 26, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया