रुकुम पश्चिम हत्या प्रकरण छानविन गर्न पाँच सदस्य छानविन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले रुकुम पश्चिमको हत्या घटना छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए ।

छानविन समितिमा नेपाल प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयको प्रतिनिधि र गृह मन्त्रालयका उप–सचिव रहेका छन् ।

गृहमन्त्री थापाले सामाजिक, जातीय सद्भाव तथा शान्ति सुरक्षा बनाउन जाजरकोट र रुकुम पश्चम जिल्लावीच काम भएको बताए ।

गृहमन्त्री थापाले दलित र गैरदलित युवतीबीचको घटना प्रकरणमा जनप्रतिनिधि वडाध्यक्ष नै संलग्न भएको विषय गम्भीर रहेको बताएका छन् ।

जाजरकोट जिल्लाका दलित युवक र गैरदलितबीचको प्रेमसम्बन्ध र विवाहलाई लिएर भएको हत्याको छानविनका लागि १२ जनालाई पक्राउ गरिएको थापाले बताए ।

रुकुम पश्चिम जिल्ला चौरजहार नगरपालिका वडा नम्बर ४ वीरबहादुर मल्लको छोरी १७ वर्षीया सुष्मा मल्ललाई भगाइ ल्याउनको लागि जाजरकोट जिल्लाको भेरी नगरपालिका ४ बस्ने मोहन बिकको छोरो वर्ष २१ नवराज बिकसहित १९ जना समूह जेठ १० गते बेलुका साढे ६ बजे सोती पुगेको गृहमन्त्री थापाले बताए ।

‘भगाइ लैजाने क्रममा केटी पक्ष र केटा पक्षको आफन्तबीच झै–झगडा हुँदा केटी पक्षले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए’, थापाले भने ।

‘केटा पक्ष जिल्ला जाजरकोट, भेरी नगरपालिका ४ बस्ने सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षका पाँच जनामा स्थायी प्रहरी पोस्ट राउत गाउँ तथा सात जनालाई ईलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको’, उनले भने ।

‘हालसम्म फेला परेको शवहरू पोस्टमार्टमका लागि जाजरकोट जिल्ला अस्पतालमा राखिएको छ’, उनले भने, ‘जेठ १० गते राति दश बजे नवराज बिकको शव भेरी नगरपालिका वडा नम्बर ४ स्थित भेरी नदीको बीच भोगमा फेला परेको छ’, गृहमन्त्री थापाले भने, ‘जेठ ११ गते साढे ६ बजे भेरी नगरपालिका वडा नम्बर १२, कोदाखोलास्थित भेरी नदीको बीच बगरमा जिल्ला रुकुम पश्चम, चौरजहारी नगरपालिका वडा नम्बर १ मा वर्ष २० का टीकाराम सुनारको शव फेला परेको छ ।’

‘जेठ १२ गते अपरान्ह ४ बजे भेरी नगरपालिका वडा नम्बर १२ मा भेरी नगरपालिका वडा नम्बर ४ का वर्ष १७ को गणेश बुढाको शव फेला परेको छ’, उनले भने, ‘हालसम्म फेला नपरेकाहरूको खोजी कार्य जारी रहेको छ ।’

‘भेरी नगरपालिका वडा नम्बर ११ निवासी लोकेन्द्र सुनार वर्ष १८, गोविन्द शाही वर्ष १७, सञ्जु बिक वर्ष १७ बेपत्ता भएको र खोजीका लागि गोताखोर परिचालन गरिएको छ’, गृहमन्त्री थापाले भने ।

नवराज बिकसहित गएको चौरजहारी नगरपालिका वडा नम्बर १ गोपाल बुढाथोकीबीच बाटोबाटै फर्किएको प्रहरीलाई जानकारी गराएको भन्दै थापाले घाइते सुदीप खड्काको मिसन अस्पतालमा उपचारपछि डिस्चार्ज भएको बताए ।

‘केटा पक्षका सम्पर्कमा आएको सबै १२ जनालाई ईलाका प्रहरी कार्यालय चौरजहारीबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाइ सामान्य सोधपुछपछि आफन्तको जिम्म लगाइएको छ’, थापाले भने ।

‘केटी पक्ष युवतीको बुबा वर्ष ४० को वीरबहादुर मल्ल, युवतीकी आमा प्रकाशी मल्ल, युवती सुष्मा मल्ल, वडाध्यक्ष डम्बरबहादु मल्ल, घटनामा संलग्न सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्लसहित १२ जनालाई प्रारम्भीक अनुसन्धान र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ’, गृहमन्त्री थापाले भने ।

Published : Tuesday, 2020 May 26, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया