कांग्रेस प्रवेश गर्न पर्वतमा लकडाउनले छेक्न सकेन, नेकपाकी लाेकप्रिय नेतृ कांग्रेस प्रवेश

पर्वत । पर्वत जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

कम्युनिस्टहरूले निर्वाचन अगाडि गरेको प्रतिवद्धताहरू भुलेर व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरू पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

शनिबार आयोजित विशेष कार्यक्रममा जलजला गाउँपालिकाको वडा नम्बर ६ शालिजामा नेकपाकी स्थानीय लोकप्रिय नेतृ तिलकुमारी कँडेल सुवेदीले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेकी छिन् । सुवेदीसहित नेकपाका १८ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा नेतृ सुवेदीसहित रेखा मल्ल सापकोटा, चण्डीप्रसाद सुवेदी, डण्डपाणि सुवेदीलगायतका रहेका छन् ।

नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेहरूलाई कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ र कांग्रेसकी नेतृ एवम् जलजला गाउँपालिकाकी उपाध्यक्ष सीमा गर्बुजा पुनले अबिर लगाएर स्वागत गरेका छन् ।

लकडाउनका बेला सामाजिक दुरी कायम गरेर उनीहरूलाई पार्टी प्रवेश गराएको नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए ।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेसको नयाँ सदस्यता प्रदान गरिएको छ ।

युवा नेता मल्लले जनतालाई ढाँटेर सत्तामा पुगेको नेकपाको सरकारप्रति आफ्नै कार्यकर्ताहरूमा निराशा र वितृष्णा भएको भन्दै पार्टी परित्याग गर्नेहरू लहर बढेको बताए ।

उनले चुनाव अगाडि उधारो सपना बाँडेर जनमत आर्जन गरेको नेकपा सरकारले जनताको अभिमतमाथि कुठाराघात गरेको समेत आरोप लगाएका छन् ।

गाउँपालिकाका अध्यक्ष मल्लले जनताको अपनत्व र आत्मसम्मान हुनेगरि नयाँ बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

सरकारले जनतालाई उपचार र राहतमा ध्यान दिनुको सट्टा स्वास्थ्य सामग्री खरिदमा समेत कमिशन खाएर मानवीय संवेदनाहीन काम गरेको आरोप मल्लले लगाए ।

नेपाली कांग्रेस शालिजाका सभापति बलबहादुर पुर्जाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुन, नेपाली कांग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, नेपाली कांग्रेसका क्षत्रीय सह–सचिव जीतबहादुर मगर पुन, शालिजाका पूर्वगाविस अध्यक्ष ज्ञानबहादुर पाइजा, जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवं कांग्रेसका युवा नेता याम शर्मा पौडेल, जलजलाका कांग्रेस नेता बुद्धिप्रसाद सुवेदी, नेपाली कांग्रेस लेकफाँटका सभापति हरिप्रसाद रेग्मी लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य कांग्रेसका प्रतिनिधि काशीराम सुवेदी र सञ्चालन कांग्रेस शालिजाका सचिव ईन्द्रप्रसाद सुवेदीले गरेका थिए ।

सामाजिक दूरी कायम गरेर आयोजना गरिएको उक्त कार्यक्रममा शालिजाका सयौं कांग्रेस कार्यकताहरूले नव आगन्तुक व्यक्तिहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस जलजला–६ शालिजा गाउँकार्य समितिको भवन निर्माणका लागि पाँच लाख बराबरको जग्गा निःशुल्क उपलब्ध गराउने स्थानीय कांग्रेसका कार्यकर्ता सदानन्द उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि मल्लले सम्मान गरेका थिए ।

मल्लले जलजला ६ मा बन्ने कांग्रेसको वडा कार्यसमितिको भवनका लागि व्यक्तिगत रुपमा ५० हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले जमिन सम्याउनका लागि ७० हजार रुपियाँ बराबरको सहयोग गर्ने पनि जानकारी दिएका छन् ।

जलजला ६ मा जग्गा प्राप्त भइसकेकाले अव छिट्टै नै वडाको आफ्नै भवन बनाउने तयारी गरिएको जलजला ६ का सभापति बलबहादुर पुनले जानकारी दिए ।

Published : Sunday, 2020 May 24, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया