यी हुन् कांग्रेस नेतालाई दलितभन्दै अपमान गरेर बैठकबाट निकाल्ने कम्युनिस्ट वडाध्यक्ष

फिदिम । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी सुहाङले कांग्रेसका प्रतिनिधिलाई दलित भनेर बैठक कक्षबाट बाहिरि निकालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट वडाध्यक्षमा निर्वाचित सुहाङले नेपाली कांग्रेसका प्रतिनिधि वीरबहादुर उभरकोटीलाई ‘दलितलाई यहाँ बस्न दिन्नँ’ भन्दै बैठक कक्षबाट बाहिर निकाले हुन् ।

उभरकोटीलाई वडा कार्यालयले बोलाएको बैठकमा सहभागी हुन कांग्रेसले प्रतिनिधिका रुपमा पठाएको थियो ।

आफूले बोलाएकोभन्दा अरू नै मान्छेलाई कांग्रेसले बैठकमा पठाएको भन्दै वडाध्यक्ष सुहाङले दलितलाई पठाएको भनेर आक्रोश व्यक्त गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

वडा कार्यालयको भवन बनाउने विषयमा सर्वपक्षीय छलफल आयोजना गरिएको थियो ।

जेठ ७ गतेको छलफलका लागि कांग्रेसको वडा कार्यसमितिका सचिवसमेत रहेका उभरकोटीलाई बैठकमा सहभागी हुन पठाइएको पाँचथर कांग्रेसले जनाएको छ ।

वडाध्यक्ष सुहाङले ‘यो मान्छेलाई मैले बोलाएको छैन, यसलाई म मिटिङमा बस्नै दिन्नँ’ भन्दै जातीय रूपमा विभेद गर्दै बैठकबाट निकालिएको पीडित उभरकोटीले बताएका छन् ।

वडाध्यक्ष सुहाङले दलित युवालाई गाली गर्दै बाहिर निकालेको भिडियो सार्वजानिक भएको छ ।

भिडियो सार्वजनिक भएपछि वडाध्यक्ष सुहाङले आफूले अरू बेला पनि त्यस्तै गर्ने गरेको बताएका छन् ।

कांग्रेसका वडा सभापति देवी योङहाङले पार्टीले आधिकारिक प्रतिनिधि पठाएको व्यक्तिलाई वडाध्यक्ष सुहाङले दलित भन्दै अपशब्द प्रयोग गरेर बैठकबाट निकालेकोमा खेद प्रकट गरेका छन् ।

घटनापछि कांग्रेस वडा समितिले न्यायको माग गर्दै शुक्रबार वडा कार्यालयमा निवेदन दर्ता गरेको छ ।

Published : Sunday, 2020 May 24, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया