देउवासँग मधेस केन्द्रित दलका नेताहरूको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीका नेताहरूले भेट गरी संविधान संशोधन विषयमा छलफल गरेका छन् ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा शनिबार दुई मधेस केन्द्रित दलका नेताहरूले भेट गरेका हुन् । भेटमा उनीहरूले देउवासँग नयाँ नक्सा कार्यान्वयनमा संविधान संशोधन आएको भन्दै सो संशोधनमा मधेसीहरूको मागलाई पनि अगाडि बढाउन माग गरेका छन् ।

मधेस केन्द्रित दलका नेताहरूले नयाँ नक्सा कार्यान्वयनको मात्रै संशोधनलाई सहयोग नगर्न देउवासँग आग्रह गरेको उच्च स्रोतले जनाएको छ ।

मधेस केन्द्रित दलका नेताहरू संविधान संशोधनका लागि अहिले सरकारले संसदमा दर्ता गरेको भन्दै मधेशका जनताका मागअनुसार आफूहरूले उठाउँदै आएका मुद्दाहरू पनि यहीबेला प्याकेजमै समेट्नुपर्ने माग राखेको जनाइएको छ ।

सभापति देउवाले मधेस केन्द्रित दलहरूको मागका विषयमा पार्टीको पदाधिकारी बैठक राखेर के गर्ने भन्नेबारेमा निर्णयमा पुग्ने जवाफ दिएको राजपाका महासचिव केशव झाले जानकारी दिएका छन् ।

संविधान संशोधनका विषयमा छलफल गर्न सभापति देउवाले आतइबार पार्टीका पदाधिकारीहरूको बैठक बोलाएका छन् ।

कांग्रेसका सभापति देउवालाई भेट्न राजपा नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा तथा समाजवादी पार्टीका डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ पुगेका थिए ।

Published : Saturday, 2020 May 23, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया