दीपक मल्होत्राले किन झुठ बोले ? याे घरबाट हुन्छ धन्दा

काठमाडौं । नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने हल्लाखल्ला गरे ।

बजारमा मास्क अभाव देखिएको भन्दै चेम्बर समेतको सहयोगमा व्यवसायी मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने घोषणा २०७६ फागुन २५ मा गरेका थिए ।

हप्तामा ५ लाख मास्क उत्पादन गरी ५ रुपियाँ प्रतिपिस उपभोक्तासम्म पुर्‍याउने प्रतिबद्धता उनले गरेका थिए । बजारमा सर्जिकल मास्क १५ रुपियाँभन्दा कममा पाइँदैन ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल प्रहरीका पूर्वएआइजी तथा चेम्बरका सदस्य नवराज ढकालसहित उपस्थित कार्यक्रममा मल्होत्राले ५ रुपियाँमा मास्क बजारमा उपभोक्तालाई उपलब्ध गराउने बताएका थिए ।

उनले ५ रुपियाँमा मास्क उपलब्ध गराउनेसम्बन्धी सयौं समाचार अहिले पनि अर्काइभमा पढ्न सकिन्छ । बजारमा कहीँ पनि उपभोक्ताले ५ रुपियाँमा मास्क पाउन सकेका छैनन् ।

‘मल्होत्राले २ महिनाअघि ५ रुपियाँमा मास्क उपलब्ध गराउने भनेका थिए’, धुम्बाराहीका भुवन कार्की भन्छन्, ‘बजारमा त १५ रुपैयाँ भन्दा कममा कहीँ सर्जिकल मास्क पाइँदैन ।’

दिनमा १ लाख मास्क उत्पादन गर्ने र ५ रुपियाँमा बितरण गर्नेभन्दै आएका मल्होत्राले यसरी प्रहरी र सेनामा दिएर फोटोसेसन मात्र गर्दैआएका छन् ।

चेम्बर र सरकारको सहयोगमा व्यवसायी मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन २७ फागुनमा ल्याएर उत्पादन शुरू गर्न लागेको जानकारी दिएका थिए ।

कच्चा पदार्थ र मेसिन आइपुगेपछि सातामा पाँच लाख मास्क उत्पादन गर्दै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको मल्होत्राले बताएका थिए ।

५ लाख मास्क उनले ५ रुपियाँमा होइन प्रतिगोटा १५ रुपियाँमा बिक्री गरिरहेका त छैनन् ? वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मल्होत्राले ५ रुपियाँमा बिक्री गर्ने भनेको मास्कको खोजीनीति गर्नुपर्ने हो । एक सातामा ५ लाख मास्क उत्पादन गरी मल्हात्राले कहाँ लगे ? त्यही मास्क कालोबजारीमा त बिक्री गरेका छैनन् उनले ? सरोकारवाला निकायले खोजी गर्नुपर्ने भइसकेको छ ।

मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान दुवै कक्षमा निःशुल्क यात्रुलाई मास्क वितरण हुने मल्होत्राले जानकारी दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता सागर आचार्यले निःशुल्क मास्क बितरण अहिलेसम्म नभएको बताए ।

चैत पहिलो सातासम्म उडान चालु थियो । निःशुल्क मास्क र स्यानिटाइजर कसैले पनि बितरण गरेको थाहा छैन । अहिले पनि प्रस्थान कक्षबाट विभिन्न देशका यात्रुहरू चार्टर फ्लाइटबाट गइरहेका छन् । उनीहरूलाई निःशुल्क मास्क कसैले पनि दिएको छैन ।

५ रुपियाँ प्रतिगोटा मास्क बजारमा उपभोक्ताले नपाएको बारेमा दीपक मल्होत्राले भन, ‘५ रुपियाँमा मैले दिने भनेर घोषणा गरें । मैले ५ रुपियाँमा बेच्न सकिनँ ।’

‘मैले ५ रुपैयाँमा दिंदा घाटा हुने भयो । त्यही भएर ७ रुपैयाँमा बितरण गर्दैआएको छु’, उनले भने, ‘नेपालभरिमा मेरा ३१ वटा पसलबाट ७ रुपियाँ प्लस भ्याट लिएर बितरण गरेको छु ।’ मल्हाेत्राले काठमाडाैंकाे ज्ञानेश्वरमा रहेकाे एउटा घरबाट सुटुक्क मास्क बेच्ने गरेका छन् ।

‘सेल पेबाट सामान किन्दा १० वटा सर्जिकल मास्क घरमा सिंत्तैमा दिइरहेको छु’, मल्होत्राले भने, ‘त्यसरी दिँदा कतिपयले सेलपेको प्रचार प्रसार गर्न खोजेको भने । फ्रीमा दिन पनि माध्यम चाहिने भएर सेलपे मार्फत् आएकालाई दिइएको हो ।’

सातामा ५ लाख पीस मास्क उत्पादन गर्ने घोषणा र उपभोक्ताले औषधि पसलमा एउटा मास्कको १५ रुपियाँ तिर्नुपरेकोबारेमा मल्होत्राले भने, ‘१५ रुपैयाँ त पर्दैन होला ।’ हस्पिटलहरूले ७ रुपियाँमा मास्क लगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क मास्क बितरण गर्ने घोषणा गरिएको तर अध्यागमन कार्यालयले अहिलेसम्म कसैले बितरण नगरेकोबारेमा ध्यानाकर्षण गराउँदा मल्होत्राले भने, ‘लकडाउन होला भन्ने लागेको थिएन । लकडाउन भयो । तर केही मास्क नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीलाई निःशुल्क बितरण गर्न दिएका थियौं ।’ (नेपालफेसकाे सहयाेगमा)

Published : Saturday, 2020 May 23, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया