यी हुन् नेपाली सेनामा करोडौँ कुम्ल्याउने पाँच भ्रष्टाचारीहरू, महासेनानी जेल पुगे

काठमाडौं । नेपाली सेनाभित्रको भ्रष्टाचारका बेलाबेला प्रश्नहरू उठ्ने गरेका छन् ।

सेनाको भ्रष्टाचार बाहिर आउँदैनन् । आइहाले पनि सेनाभित्रको भ्रष्टाचारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी मुद्धा चलाउन पाउँदैन । त्यस कारण पनि सेनाभित्रका हरेक गतिविधिहरू अपारदर्शी हुन्छ भन्ने आरोप छ ।

यही आरोपलाई बल पुग्ने गरी नेपाली सेनाभित्रको ठूलो भ्रष्टाचार काण्ड बाहिर आएको छ ।

सेनाको समरी जनरल सैनिक अदालतले शुक्रबार तीन जना सैनिक अधिकृत र दुई जना अन्य दर्जाका सैनिकलाई भ्रष्टाचारको कसुरमा सजाय र दण्ड दिइएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार श्री सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा उनीहरूले करोडौँ रुपियाँ भ्रष्टाचार गरेको जनाएको छ ।

सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका ३ जना सैनिक अधिकृत तथा २ जना अन्यदर्जाहरूलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महाविद्यालयमा भएको आर्थिक अनियमिततामा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डले छानविन गरी फागुन २३ गते राय सहितको प्रतिवेदन बुझाएको थियो ।

तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा सैनिक मुख्यालयले चैत ६ गते समरी जनरल सैनिक अदालत गठन गरेको थियो । सोही अदालते जेठ ६ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो ।

महासेनानी भुपालमान अधिकारी महाविद्यालयमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरेको ठहर भएपछि दुई महिना कैद र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरी लिएर खाएको ठहरिन आएको बिगो रकम एक करोड पचासी लाख चाली हजार एक सय आठ रुपियाँ एघार पैसा असुल उपर गर्ने निर्णय पनि गरिएको छ ।

त्यसैगरी, सैनिक अदालतबाट प्रमुख सेनानी देवबहादुर क्षेत्रीले आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको ठहर भएपछि २ वर्ष बढुवा रोक्का गर्ने फैसला भएको छ । क्षेत्रीबाट चार लाख चालीस हजार असुल उपर गर्ने फैसला पनि भएको छ ।

हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरेको ठहर गर्दै सनिक अदालतले भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको छ । पोखरेलबाट तीन लाख साठी हजार असुल उपर गर्ने फैसला पनि भएको छ ।

हुद्धा गणेशबहादुर अधिकारीलाई पनि भ्रष्टाचारमा दोषी ठहर भएपछि २ वर्ष तलव वृद्धी (ग्रेड) रोक्का गर्ने तथा दश हजार असुल उपर गर्ने फैसला भएको विज्ञप्तिमा उल्लेख छ ।

लेखाका सहसेनानी सुरेन्द्रबिक्रम भण्डारीले पनि आर्थिक कार्यहरू गर्दा कानूनी प्रकृया अवलम्वन नगरी भ्रष्टाचार गरेको विज्ञप्तिमा उल्लेख छ । उनलाई नसिहत दिने फैसला भएको छ ।

सोही मुद्धामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2020 May 23, 7:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया