भक्तपुरकी महिलामा कोरोना, शुक्रबार राति ९ जनामा पुष्टि

काठमाडौं । शुक्रबार साँझ सवा आठ बजे चार वटा जिल्लाका ९ जनामा व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा शुक्रबार सवा आठ बजे जारी विज्ञप्तिअनुसार मकवानपुर, भक्तपुर, सप्तरी र बारा जिल्ला गरी ९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

सप्तरी जिल्लाको बालन–बिहुल गाउँपालिकाका ३५ वर्षीया पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बारा जिल्लाको सिमरनगढ नगरपालिका निवासी २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सहप्रवक्ता डा.अधिकारीले बताए । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Published : Friday, 2020 May 22, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया