लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, नक्सा आयाे, भू-भाग फिर्ता लिन पहल गरौँः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको नयाँ नक्सा जारी भइसकेपछि भारतद्वारा अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपाली भूमि फिर्ता ल्याउन पहल गर्न सुझाव दिएका छन् ।

कांग्रेस प्रवक्ता शर्माले शुक्रबार फेसबुक पेजको लाइभमार्फत भारतसँग कुटनैतिक वार्ता शुरु गरेर नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता गराउनुपर्ने माग गरे । भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको छ महिनापछि नेपाल सरकारले ढिलै भएपनि आफ्नो भूमि राखेर नयाँ नक्सा जारी गरिएकोमा सरकारलाई धन्यावाद दिए ।

प्रवक्ता शर्माले छ महिना अगाडि बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सभापति शेरबहादुर देउवाले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएको स्मरण गराए ।

‘भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो नक्साभित्र राखेर छ महिना अगाडि नयाँ नक्सा जारी ग¥यो’, शर्माले भने, ‘छ महिना पछाडि सरकारले नयाँ नक्सा जारी गरेको छ । भारतले पिथौरागढबाट नेपाली भूमि लिपुलेक हुँदै तिब्बत जाने सडक उदघाटन ग र्‍यो । यो कांग्रेसलाई स्वीकार्य छैन ।’

उनले भने, ‘समृद्धिमा कांग्रेस प्रतिपक्ष हुँदैन । कोरानाविरुद्धको लडाइँमा कांग्रेस प्रतिपक्ष बन्दैन । राष्ट्रियताको सवालमा कांग्रेस सधैँ सरकारको साथमा छ ।’

‘नेपालको नक्सा सार्वजनिक गर्नु स्वागत योग्य छ । सरकारलाई कांग्रेसको साथमा छ’, उनले भनिन्, ‘सरकारले जारी गरेको नक्सा स्वागत गरौँ । ०३२ साल अगाडि त्यो नक्सा थियो । ०३२ साल पछाडि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई हामीले नक्सामा पढ्न पाएनौँ । यो नक्सा जारी भएपछि नेपाली भूमि फिर्ता ल्याउने दायित्व शुरु भएको छ ।’

‘नक्सा जारी भयो । आवेगमा आएर होइन अब कुटनैतिक पहल गरेर हाम्रो भूमि फिर्ता लिनुपर्छ’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘राष्ट्रियताको कुरालाई राजनीतिक उदेश्यपूर्तिमा समावेश नहोस् । राष्ट्रवादको नाममा आशंका उब्जिएको छ । कुटनैतिक पहल होस् । नक्सा हाम्रो हातमा, जग्गा उसको हातमा हुने कुरा हुनुहुँदैन । नक्सा पनि हाम्रो हातमा र जग्गा पनि हाम्रो हातमा हुनुछर्प । उग्रकुरा मात्रै गर्ने होइन । संयमित भएर सम्वाद गर्नुपर्छ ।’

कांग्रेसका प्रवक्ता शर्माले भूमि फिर्ताका सम्बन्धमा भारतसँग सरकारको अभिव्यक्तिमा जति पहल गर्नुपर्छ त्यति ब्यवहारमा नदेखिएको भन्दै चिन्ता जनाएका छन् ।

‘नेपालले नयाँ नक्सा जारी भएपछि भारतको प्रतिक्रिया आएको छ । भारतले हाम्रो नक्सामा अस्वीकार गरेको छ’, शर्माले भने, ‘अभिव्यक्तिमा तिब्रता होइन, व्यवहारमा तिब्रता हुनुपर्छ । नक्सामात्रै होइन, जमिन पनि फिर्ता लिनुपर्छ । भारतसँग वार्ता गर्नुपर्छ ।’

चीन र भारतबीच सन् २०१५ को सहमतिअनुसार नै भारतले बाटोलाई पूर्णता दिएको कांग्रेसका प्रवक्ता शर्माले बताएका छन् । उनले यो विषयमा भारतसँगै चीनसँग पनि कुरा गर्नुपर्ने बताएका छन् । त्यस बेला सुशील कोइरालाको सरकारले चीन र भारतसँग प्रोटेस्ट नोट पठाएर विरोध जनाएको भन्दै शर्माले आफ्नो भूमिलाई अतिक्रमण हुन कहिल्यै पनि नदिने बताए ।

‘हामीभन्दा चीन र भारत दुई ठूला देश होलान् । हामी सानो हौँला । तर स्वाभीमानी छौँ । हाम्रो भूमि हामीले पाउनुपर्छ’, शर्माले भने, ‘हामी ऐतिहासिक तथ्यअनुसार कुरा गर्नुपर्छ । सन् १८१६ को सुगौली सन्धीमा पश्चिम सिमाना महाकाली नदीभन्दा पूर्वको भू–भाग नेपालको भन्ने लेखिएको छ ।’

‘काली नदीको मुहान लिम्पियाधुरा नै हो । अहिले आएर भारतले खोल्सोलाई कालीनदीको नामाकरण गरेर भारत सरकारले भन्ने हो सुगौली सन्धी उल्लंघन हुनेछ’, उनले भने, ‘हामीले कुटनैतिक पहल कदमी गर्नुपर्छ । भारत र चीनसँग सम्वाद गर्नुपर्छ । भारतले तथ्यलाई तोडमोड गर्नु हुँदैन ।’

छ महिना अगाडि कात्तिक १६ गते नेपालको भू–भाग राखेर भारतले नक्सा जारी गरेकोमा कांग्रेसका प्रवक्ता शर्माले आपत्ति जनाए ।

‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अभिन्न अंग हुन् । सर्वदलीय बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल सरकारले अपात्ति जनाउनुपर्छ भनेर भन्नुभएको छ । नेपालले आफ्नो नक्सा जारी गर्नुपर्छ भनेका थियौँ’, शर्माले भने, ‘त्यो धारणा कांग्रेसको मात्रै पनि थिएन । सबैको थियो । केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा सभापति देउवाले सुगौली सन्धीमा भएअनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो । भारतीय सेना कालापानीबाट फिर्ता हुनुपर्छ ।’

Published : Friday, 2020 May 22, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया