संविधान संशोधनको प्रस्ताव दर्ता, कांग्रेस र मधेस केन्द्रित दलले साथ देलान् ?

काठमाडौं । सरकारले नयाँ नक्सा कार्यान्वनका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले शुक्रबार संघीय संसदको सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।

नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको छ ।

निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियो ।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ । संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ ।

सरकारसँग दुईतिहाइको बहुमत छैन । संविधान संशोधनका लागि नेपाली कांग्रेस वा मधेस केन्द्रित दलहरूले साथ दिनुपर्छ ।

संसदको पछिल्लो बैठकमा कांग्रेसका सांसदहरूले सरकारलाई नयाँ नक्सा र नेपाली भूमि रक्षाका लागि सबै सहयोग गर्ने बताएका छन् ।

मधेस केन्द्रित दलहरूले कांग्रेसकै नेताहरूले जसरी सहयोग गर्ने आश्वासन दिएका छैनन् । मधेस केन्द्रित दलहरूले नयाँ नक्सा संशोधन गरी कार्यान्वयनमा सहयोग गर्छन् वा गर्दैनन् भविष्यले बताउनेछ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पाँच महिना अगाडि भारतले नेपाली भूमि अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेपछि बसेको बालुवाटारको सर्वदलीय बैठकमा सबै सहयोग गर्ने आश्वासन दिएका थिए ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्तावलाई सहयोग गर्छ वा गर्दै केही भनेको छैन । संविधान संशोधनका विषयमा कांग्रेस नेताहरूले सल्लाह गरेर जवाफ दिने बताएका छन् ।

Published : Friday, 2020 May 22, 4:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया