चुनावमा घरमै भत्ता आउँछ भन्ने ओलीले काटिदिए विधवा र अपाङ्गता भत्ता, कांग्रेसद्वारा विरोध

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (विधवा) महिलाहरूलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदस्य दलका मुख्य प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ति जारी गरेर भत्ता कटौती गरिएकोमा आपत्ति जनाएका हुन् ।

‘नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान अनुसार दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई कानून र नियम विपरित नदिने निर्णयप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरूको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो’, खाँणले भनेका छन् ।

‘तसर्थ सरकारद्वारा गरिएको गैर जिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चुनावका बेला खड्गप्रसाद ओलीले घरघरमै खनखनी भत्ता ल्याइदिने भनेर अभिव्यक्ति दिएका थिए ।

त्यो अभिव्यक्ति सेलाउन नपाउँदै ओलीले अपाङ्गता र विधवाको भत्ता काटिदिएका छन् । कोरोना भाइरसको संक्रमण र लकडाउने अपाङ्गता र विधवाहरू समस्या भइरहेका बेला ओलीकाे कम्युनिस्ट सरकारले भत्ता काटिदिएको छ ।

Published : Wednesday, 2020 May 20, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया