गगनको फरक प्रश्न सुनेपछि झस्किए ओली, खर्च गरे लामै समय

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपालको नयाँ नक्सालाई आफ्नो कुर्सी जोगाउने रणनीतिमा प्रयोग नगर्न प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई चेतावनी दिएका छन् ।

संसदको मंगलबार बसेको बैठकमा ओलीलाई प्रश्न सोध्दै कांग्रेसका युवा नेता थापाले नयाँ नक्सालाई नेकपाको घरभित्रको झगडा मत्थर बनाउनका लागि जारी गरिएको त होइन भनेर आशंका जनाएका छन् । उनले नयाँ नक्सा जारी गर्ने सरकारको निर्णयलाई धन्यावाद दिँदै भारतबाट अतिक्रमित भूमि फिर्ता गराउन सुझाव दिएका छन् ।

कांग्रेसका नेता थापाले अतिक्रमित भूमि फिर्ता गर्ने क्रममा सरकारलाई चाहिने सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

‘संसदीय समितिहरूले पटक–पटक दिएको निर्देशनको पालना गर्दै नयाँ नक्सा जारी गर्ने निर्णय गर्नुभएकोमा सरकारलाई धन्यावाद’, थापाले भनेका छन् ।

‘केही मानिसहरू आशंका गर्दै छन् कि प्रधानमन्त्रीज्यूले अब यो नक्सा भूमि फिर्ता ठोस पहिलकदमी होइन, बरु नक्सा जारी गरेकोमा महिमा मण्डन गर्दै गराउँदै घरभित्रका आफ्न अन्य कमिकमजोरी ढाकछोप गर्न प्रयोग गर्नु हुनेछ’, उनले भनेका छन् ।

‘केही मानिसहरू आशा गर्दै छन्’, उनले भने, ‘प्रधानमन्त्रीजीले नक्सा जारी गर्ने यो सहि ट्याक्टिकल कदमलाई अब भूमि फिर्ता गर्ने दिगो रणनीतिसँग जोड्दै सुझवुझका साथ परिणाममुखी काम गर्नु हुनेछ र यसको लागि सबको साथ लिनुहुनेछ ।’

‘महासंकटमा घरभित्र र घर आउन नपाएका आफ्ना जनता जोगाउने दायित्वबाट पन्छनका लागि यो नक्साको कदाचित दुरुपयोग गर्नु हुनेछैन’, कांग्रेसका सांसद थापाले भनेका छन् ।

थापाको प्रश्नको जवाफ दिनको क्रममा ओलीले नक्सा जारी भएकोमा आशंका नगर्न आग्रह गरेका थिए । थापाको जवाफ दिन ओलीले झण्डै पाँच मिनट खर्च गरेका थिए ।

Published : Tuesday, 2020 May 19, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया