यी हुन् ओलीलाई र्‍याखर्‍याख पार्ने कांग्रेसका सांसदहरू

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले सरकारले कोरोना रोकथाममा काम गर्न नसकेको भन्दै आक्रोस पोखेका छन् ।

संसदको मंगलबार बसेको बैठकमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्रश्न सोध्दै कांग्रेसका सांसदहरूले तराईका जिल्लाहरूमा एउटा कोठाको क्वारेन्टाइन २०–२५ जनासम्म राखेको भन्दै आपत्ति जनाए । उनीहरूले विश्वबाट हटाउने तयारीमा रहेको ¥यापिड टेस्ट गरिएको भन्दै आक्रोश पोखे ।

कांग्रेसका सांसदहरूले लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई राहत दिन नसकेको भन्दै आपत्ति जनाए । कांग्रेसका सांसदहरूले कोरोनाको परीक्षण गर्न र भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीहरूलाई परीक्षण गरेर छिराउन सुझाव दिए ।

संसद र संसदीय समितिहरूको दवावपछि सरकारले नेपालको नक्सा जारी गरेको भन्दै कांग्रेसका सांसदहरूले धन्यावाद दिएका छन् ।

कांग्रेसका सांसदहरूले विदेशमा रहेका नेपालीहरूको उद्धार, ३३ किलो सुनका दोषीहरूलाई कारबाही लगायतको माग गरेका थिए । उनीहरूले मुलुकमा भ्रष्टाचार भएको भन्दै कारबाहीको माग गरे ।

ओलीलाई कांग्रेसका सांसदहरू डा.अमरेशकुमार सिंह, सञ्जायकुमार गौतम, लक्ष्मी परियार, सुजाता परियार, रंगमती शाही, रामबहादुर विष्ट, ज्ञानेन्द्रबहादुर कार्की, मीनबहादुर विश्वकर्मा, सत्यनारायण शर्मा, दिलेन्द्रप्रसाद बडू, भरतकुमार शाहले प्रश्न सोधेका थिए ।

मीना सुब्बा, पुष्पा भुसाल गौतम, उमा रेग्मी, प्रमिला राई, गगनकुमार थापा, पार्वता डिसी चौधरी, दीव्यमणि राजभण्डारी, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी, विमला नेपाली, प्रदीप गिरी, भीमसेनदास प्रधान, तेजुलाल चौधरी, महेन्द्रकुमारी लिम्बु, राजेन्द्रकुमार केसी र डा.मीनेन्द्र रिजालले पनि ओलीलाई प्रश्न सोधेका थिए ।

त्यसपछि ओलीले संसदमा जवाफ दिएका थिए । उनले नेपालको नक्सा कसैको दवावमा जारी नभएको बताए । कांग्रेसका सांसदहरूले कोरोनाको लागि राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरेपछि जवाफमा ओलीले भने, ‘हामीले तयारी गरेका थिएनौँ । तयारी गर्दा कोरोना भित्रियो ।’

ओलीले ओम्नीभन्ने कम्पनीका बारेमा आफूलाई जानकारी नरहेको बताए । उनले ओम्नीसँग आफ्नो नाम जोडेकोमा आपत्ति जनाए । ओलीले ओम्नीसँग सामग्री ल्याउने कार्य ठीक रहेको बताए ।

Published : Tuesday, 2020 May 19, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया