कोरोना घोटाला प्रकरणका आरोपहरू ओलीद्वारा खारेज, सबैले उन्मुक्ति पाउने

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन नसक्ने बताएका छन् ।

मंगलबार राष्ट्रका नामाम सम्बोधन गर्दै ओलीले सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरू यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने बताएका हुन् ।

‘त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो’, ओलीले भनेका छन्, ‘अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरू विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ ।’

‘सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरूको सम्परीक्षणभन्दा माथि हुँदैनन्’, ओलीले भनेका छन्, ‘तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ ।’

‘तर कामै गर्न नसक्ने र प्रक्रिया नै शुरू हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरूलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ’, ओलीले भनेका छन्, ‘समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ ।’

‘मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।’

‘भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन’, उनले भने, ‘कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।’

प्रधानमन्त्री ओलीले चीनबाट कोरोना भाइरसको संक्रमण रोकथाम र रोकथामका लागि खरिद भएका सामग्रीमा मुछिएकाहरूलाई कारबाही गर्ने कुनै संकेत गरेका छैनन् ।

उनले कोरोना सामग्री घोटाला प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री, सचिव, महानिर्देशक, ठेकेदार र अन्य सबैलाई उन्मुक्ति दिने संकेत गरेका छन् ।

Published : Tuesday, 2020 April 7, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया