कम्युनिस्ट र मधेसी दल चुप बसेका बेला कोरोना कोषमा कांग्रेसले दियो ४० लाख ७५ हजार

जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ को सरकारले स्थापना गरेको कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषलाई ४० लाख ७५ हजार प्रदान गरेको छ ।

कांग्रेस प्रदेश २ समितिले प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ४० लाख ७५ हजार रूपियाँ जम्मा गरेको हो ।

कोषमा रकम सहयोगका लागि प्रदेश २ समितिअन्तर्गतका ८ जिल्लाका समितिले सहयोग गरेको बताइएको छ ।

सहयोग रकम हस्तान्तरण गर्न कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवलगायत उपस्थित थिए ।

यसैबीच, प्रदेश २ ले स्थापना गरेको उक्त कोषलाई सोमबार नै लक्ष्मी बैंकले रू. १० लाख र सिभिल बैंकले पाँच लाख प्रदान गरेको छ ।

ती दुवै बैंकका प्रतिनिधिले छुट्टाछुट्टै कार्यक्रममा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।

कोषमा अहिलेसम्ममा एक करोड छ लाख ७५ हजार जम्मा भइसकेको प्रदेश २ सरकारले जनाएको छ ।

प्रदेश २ मा नेकपा र मधेसवादी दलहरूले सहायता रकममा चासाे नदेखाएकाे भनेर आरोप लगाइरहेका बेला कांग्रेसले ठूलाे रकम काेषमा उपब्ध गराएकाे छ ।

Published : Monday, 2020 April 6, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया