सत्ताका कुरा गर्ने कांग्रेसका दुई पराजित नेतालाई डा.रिजालले दिए झट्का लाग्ने जवाफ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद डा.मीनेन्द्र रिजालले कांग्रेस पूरै पाँच वर्ष विपक्षमा बस्ने गरेर मानसिक रुपमा तयार रहन सुझाव दिएका छन् ।

कांग्रेस नेता डा.रिजालले आइतबार साँझ फेसबुकमा स्टाटस लेखेर कांग्रेस यो पाँच वर्ष पूरै अवधि विपक्षमा बस्न मानसिकरूपमा तयार रहनुपर्ने बताएका हुन् । उनले सत्तामा जाने कुरा दुई पटक उठेको भन्दै चिन्ता जनाएका छन् ।

डा.रिजालले नबोलेको कुरालाई बोलेको छैन भनेपछि त्यसलाई बोलेकै हो भनेर भन्नु उचित नभएको बताएका छन् । ‘साथीहरूले बोल्या छैन भन्या कुरालाई बोलेकै हो भन्नु उचित होइन’, डा.रिजालले सहमहामन्त्री डा.महततिर व्याङ्ग्य गर्दै भनेका छन् ।

‘तर सत्ता प्रशंग यसबीचमा दुई पटक उठिसक्या हुनाले यती चाहिँ भन्न मन लाग्यो कि हामी कांग्रेस यो पाँच वर्ष पूरै अवधि विपक्षमा बस्न मानसिकरूपमा तयार हौं’, डा.रिजालले भनेका छन्, ‘अनि मात्रै देशलाई सबल नेतृत्व दिन सक्नेगरी पुनर्जीवत हुनेछौं ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पैडेल र सह–महामन्त्री डा.प्रकाशशरण महतले सत्तामा जानेका कुरा गरेपछि आलोचित भएका छन् ।

वरिष्ठ नेता पौडेलले केही दिन अगाडि फेसबुक लाइभका क्रममा राष्ट्रिय सहमतिको सरकार बनाएर कोरानो भाइरसको संक्रमणविरुद्ध अभियान चलाउनुपर्ने बताएका थिए ।

पौडेलको त्यो अभिव्यक्ति सेलाउन नपाउँदै कांग्रेसका सहमहामन्त्री डा.महतले ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग मध्यावधी निर्वाचन गर्नुपर्ने बताएका थिए । डा.महतको सो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

राष्ट्रिय सहमतिको सरकारको माग राख्ने पौडेल र मध्यावधी निर्वाचनको माग गर्ने सहमहामन्त्री डा.महत संयोगले दुबैजना प्रतिनिधि सभाको निर्वाचनमा पराजित नेताहरू हुन् ।

Published : Sunday, 2020 April 5, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया