कांग्रेसका सह–महामन्त्री डा.महतले मुख सम्हाल्न नसक्दा देशभरिका कांग्रेसीको शिर झुक्यो

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले कोरोना भाइरसको संक्रमणको अन्त्य भएपछि देश मध्यावधीमा जानुपर्ने बताएका छन् ।

‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा सह–महामन्त्री डा.महतले कोरोना भाइरसको संक्रमणबाट देशले पार पाएपछि मध्यावधीमा जानुपर्ने बताएका हुन् ।

‘यो सरकारले राजीनामा दिनुपर्छ । यो संक्रमण सकिएपछि, यसबाट पार पाइसकेपछि अब देश मध्यावधि चुनावमा जानुपर्छ’, उनले भने, ‘अब हामीले सकेनौँ भनेर भन्नुपर्छ । यो मेरो व्यक्तिगत धारणा हो ।’

‘प्रधानमन्त्री केपी ओलीजीले राजीनामा दिएर अर्को व्यक्तिलाई ओलीजीको ठाउँमा कम्युनिस्ट पार्टीको अरु नेता आएपनि अहिले जसले बागडोर उपप्रधानमन्त्रीलगायतका सबैको हबिगति देखियो ।’

‘ओलीजी सक्रिय हुँदा पनि धेरै कुरा बिग्रिएको थियो । अहिले बिरामी भएर निस्क्रिय हुँदा पनि अरु सञ्चालकहरूको पनि त्यही हालत देखियो’, सह–महामन्त्री डा.महतले भने, ‘ओलीजीको ठाउँमा अरु कोही भएर देश चल्ला भन्ने विश्वास नै भएन ।’

‘जनताले विश्वास गरेर मतदान गरे । चुनावका बेला उहाँले प्रचार गर्नुभयो । कुरा मीठा गरेका थिए’, उनले भने, ‘ओलीजीले केही गर्छन् कि भन्ने थियो । काम भएन । जनता निरास भएको अवस्था छ ।’

कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीनबाट खरिद भएको सामग्री खरिदमा घोटाला भएको भन्दै कांग्रेसका सह–महामन्त्री डा.महतले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई पदबाट हटाउन माग गरे । कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रण उच्चस्तरीय समितिको संयोजक भएको नाताले पनि पोखरेललाई पदबाट हटाउन उनले माग गरे ।

केही दिन अगाडि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका थिए । त्यस बेला पौडेलको आलोचना भएको थियो ।

सह–महामन्त्री डा.महतले मध्यावधी निर्वाचनको माग गरेपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

Published : Sunday, 2020 April 5, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया