डा.आरजु राणाले दिइन् सरकारलाई चुनौती, सक्दैनौँ भने हात उठाउ, हामी उद्धार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी एवम् नेतृ डा.आरजु राणाले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई निरिह भनेर टिप्पणी गरेकी छिन् ।

कांग्रेस नेतृ डा.राणाले नेपाल–सिमानामा रोकिएका नेपालीहरूका विषयमा उचित कार्य गर्न नसकेको भनेर सरकारलाई आग्रह गरिन् । उनले सरकारले सक्दैन भने आफूहरूलाई जिम्मेवारी दिए स्वास्थ्य जाँच गराएर ती नेपालीहरूलाई नेपाल प्रवेश गराउन तयार रहेको बताइन् ।

‘निरिह सरकार ! अब त धेरै दिन बितिसके । के हाम्रो देश यति गरिब छ कि सिमानामा भोकभोकै आकाशमुनि सुत्न बाध्य भएकाहरूको जाँच गरेर आफ्नै देशमा क्वारेन्टाइनमा राख्न सकिँदैन ?’, फेसबुकमा उनले भनेकी छिन्, ‘हो ! सबै जनाहरूलाई एकै दिनमा नसकिएला, तर सुरुवात त गरौं ।’

‘सरकारले आफै गर्न सक्दैन भने परीक्षण गर्ने उपकरणहरू र पीपीई किन्ने व्यवस्था मिलाइदिए हामी नागरिक समाजबाट गराउँछौँ’, डा.राणाले भनेकी छिन्, ‘हामी श्रोत जुटाउँछौं । अब त अत्ति भयो ? कहिलेसम्म सिमानाका सडकहरूमा बिजोग हेरेर बस्ने ?’

‘के नेपाली हुनुको परिभाषा नै बदलिने ? आफ्नो देशवासीलाई हेर्न नसक्ने यो सरकारको केही काम छ ?’, उनले भनिन्, ‘नागरिकको सुरक्षा सरकारको पहिलो कर्तव्य हो र आफ्नो देश फर्केर आउने नेपालीहरूको अधिकार पनि हो । साथै परीक्षणको दायरा बढाई बढीभन्दा बढी परीक्षण गरिनु अहिलेको नितान्त आवश्यकता पनि हो ।’

सयौँ सर्वधारण भारतबाट नेपाल प्रवेश गर्न खोजी रहेका छन् । ती नेपालीहरूलाई सरकारले लकडाउनका कारण देखाउँदै सीमापारि बस्न बाध्य बनाएको छ ।

Published : Friday, 2020 April 3, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया