पत्रकार महासंघको विज्ञप्तिले ओलीका सल्लाहकारहरूभित्र खैलाबैला, बकबक गर्न थाले थापा

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दवाव दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति जारी गरेर समाचार हटाउन दवाव दिनुका साथै समाचार हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दवाव दिएर समाचार हटाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहाकारले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउनुका साथै केही समय कुनै पनि समाचार पोष्ट गर्न नमिल्ने गरी अनलाइन अवरुद्ध पारिएको काठमाडौं प्रेसले महासंघलाई जानकारी गराएको हो’, विज्ञप्तिमा भनिएको छ ।

‘प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्य सत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो’, महासचिव विष्टले भनेका छन् ।

‘यस्ता कार्यले संविधानको प्रस्तावनामै उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास भएको महासंघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछ । साथै, भविष्यमा यस किसिमका प्रेस स्वतन्त्रताविरोधी कार्य दोहोरिन नदिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न तथा स्वतन्त्र, सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न महासंघ सरकारसँग माग गर्दछ ।’

महासंघको विज्ञप्ति आएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले फेसबुकमा स्टाटस लेखेर पत्रकार महासंघ र महासचिव विष्टलाई धम्कीयुक्त शैलीमा चेतावनी दिएका छन् ।

थापाले समाचार गलत भएको दाबी गरेका छन् । उनले काठमाडौंप्रेसका सम्पादकलाई फोन गरे पनि समाचार हटाउन कुनै दवाव नदिएको दाबी गरेका छन् ।

ओलीका प्रेस सल्लाहकार थापाले पत्रकार महासंघ बनाउन आफ्नो पनि भूमिका रहेको भन्दै महासचिव विष्टलाई चेतावनीयुक्त शैलीमा नानाथरी अभिव्यक्ति दिएका छन् ।

महासचिव विष्टले पनि आफ्नो फेसबुकमा भनेका छन्, ‘ पहिलो पटक असुरक्षित महशुस गरेको छु । डराएको छैन ।’ विष्टले आफू सधै प्रेस स्वतन्त्रताका पक्षमा लागिरहने बताएका छन् ।

ओलीका प्रेस सल्लाहकार थापाले विष्टलाई महासंघको चुनाव लागेको भन्दै पत्रकारहरूको राजनीति गरेको आरोप लगाएका छन् ।

Published : Thursday, 2020 April 2, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया