विश्वप्रकाशको प्रश्न, ‘मान्छेको ज्यान गएपछि कोरोनाको रिपोर्ट किन दिनु हुन्छ ओलीजी ?’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले कोरोना भाइरसको संंक्रमण रोकथामका लागि गरिरहेको कामप्रति असन्तुष्टि जनाएका छन् ।

शर्माले बिहीबार प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पत्र लेखेर कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लापरबाही गरिरहेको बताएका हुन् । उनले भयावह अवस्था आउनुभन्दा अगाडि नै जिम्मेवार भएर सरकारलाई काम गर्न सुझाव दिएका छन् ।

‘परीक्षण, परीक्षण र परीक्षणका लागि विश्व स्वास्थ्य संगठनले जोड दिएको छ । तर अझैपनि ७ प्रदेशको कम्तिमा ७ ठाउँमा परीक्षण गर्न सक्ने गरि क्षमता विस्तार गरिएको छैन’, शर्माले भनेका छन्, ‘संक्रमण फैलनबाट रोक्न परीक्षणको व्यापक दायरा विस्तार गर्नैपर्ने विषयमा यतिका समयसम्म प्रगति नहुनुलाई गम्भीरतापूर्वक लिएर प्रदेश हुँदै सबै जिल्लामा विस्तार गर्न यहाँबाट तत्काल परिणाममुखी पहलको अपेक्षा छ ।’

नेपाली कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘हालसम्म छ नेपालीमा कोरोना संक्रमण देखिएको मध्ये एक स्वस्थ भएर फर्किए भने चार उपचाररत छन् । तर उनीहरूको परिवारका सदस्यको परीक्षण गर्न सरकारको सम्बन्धित निकायले थाहा छैन कुन साइतको प्रतीक्षा गरेको छ ।’

‘उनीहरूसँगै हवाई या सडक यात्रा या घुलमिल गरेका अन्य नागरिकको खोजविन शुरु गरियो । तर परीक्षणको दायरामा ल्याइएको छैन’, उनले भने, ‘समुदायमा कोरोना फैलन छुट दिएझैं स्थिति हो यो । यहाँको जानकारीमा यो विषयको गम्भीरता पुगेको छ कि छैन ?’

‘यसवीचमा उपत्यका र बाहिरका अस्पतालमा केही बिरामीमा कोरोना आशंका गरियो, मृत्यु पश्चात् मात्रै परीक्षणको रिपोर्ट आयो’, शर्माले भनेका छन्, ‘बुटवलको एक अस्पतालमा लास उठेन, बिराटनगरमा चार अस्पताल दौडाउँदा दौडाउँदै एक महिलाको मृत्युु भयो ।’

‘कोरोना बाहेक अन्य रोगले पनि मृत्यु हुन्छ । तर सुरक्षित रुपले परीक्षण गर्न पीपीई नपाउँदा कयौं ठाउँमा कोरोनाको संन्त्रासले बिरामी हेर्न स्वास्थकर्मी हच्केका छन्’, शर्माले भने, ‘प्रधानमन्त्रीकै जिल्लामा चार वर्षे बालकको ज्वरो जचाँउन जाँदा एक अस्पतालको गेटबाटै अभिभावक फर्काइए । यस्तो स्थिति समाधान गर्न प्रधानमन्त्रीको ध्यान तत्काल जान जरुरी भएको छ ।’

‘यसवीचमा विदेशबाट जति नेपाली आए, तीमध्ये थोरै मात्र क्वारेन्टाइनमा छन् । बाँकी कहाँ छन् ? सरकारसंग तथ्यांकसम्म छैन’, ओलीलाई उनले प्रश्न गर्दै भनेका छन्, ‘क्वारेन्टाइन, परीक्षण र उपचारको ब्यवस्थित कार्ययोजना कठोरता पूर्वक कार्यान्वयन गरेर समुदायलाई आश्वस्त राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछु ।’

नेपाली कांग्रेसका प्रवक्ता शर्माले कोरोना भाइरस प्राणघातक रहेको सूचना विश्वब्यापी भएको चार महिना पुगिसक्दापनि पीपीइ, परीक्षण कीट, भेन्टिलेटर लगायत अत्यावश्यक सामग्रीको पर्याप्त जोहो नगरिनु सरकारको गैह्रजिम्मेवारी भएको बताए ।

‘समयमै सामग्री आयातको योजना, तयारी र प्रक्रिया नथाल्नु, लक डाउनमा पुगेपछि आकस्मिक रुपले खरिद योजना बनाउँदा आवश्यक पारदर्शी प्रक्रिया अवलम्बन नगरिनु, बजार मूल्यभन्दा अत्यधिक रकम निकासा गराएर राज्यकोषको दुरुपयोग गरिनु’, कोरोना संक्रमण रोकथाममा सरकारको कमजोरीहरू औँल्याउँदै शर्माले भनेका छन्, ‘विश्व स्वास्थ संगठनको मापदण्ड बाहिरका कतिपय कमसल सामग्री खरिद गरिनु ।’

‘प्रधानमन्त्रीज्यू, हामी यतिबेला यहाँको नेतृत्वमा आजको संकटबाट पार पाउन हर संभव साथ दिन तत्पर रहेका छौं । सरकार, प्रतिपक्ष र सबै दल संकटको यस्तो बेला एक ठाउँमा उभिनु भनेको राजनीतिप्रति नागरिकको असन्तोषलाई न्यून गर्ने अवसरपनि हो’, उनले भने, ‘नागरिक पंक्तिबाट जब कात्रोमा पनि कमिसन ? भनेर प्रश्न आउँछ, तब हामी नाजवाफ बन्छौं ।’

‘प्रधानमन्त्रीज्यु समक्ष दुई विकल्प रहेकोे म सुझाउन चाहँन्छु । एक, ढाकछोप गर्ने र त्यसको छिटा ब्यहोर्ने, दुई सिंगो देशको आग्रह सुनेर निस्चित आरोपीहरूलाई पदमुक्त गर्दै अनुसन्धानलाई सघाउने’, उनले भने ।

कांग्रेसका प्रवक्ता शर्माले लकडाउनका कारण हजारौँ सर्वसाधारण समस्यामा परेको भन्दै सहायता वितरणमा ढिलाइ गरिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘सरकारले ल्याएको राहतको प्याकेजलाई सकारात्मक रूपमा लिंदै त्यो अपर्याप्त रहेकोे ध्यानाकर्षण हामीले गरिसकेका छौं । प्रधानमन्त्रीज्यू हरेक वर्ष असार मसान्तमा हामीले फ्रीज हुन लागेको बजेट कनिकाझैं छर्ने गरेका छौं, यसपालि त्यो नछरौं’, शर्माले भने, ‘अहिले नागरिक जोगाऔं, पछि पुल हालौंला, बाटो बनाऔंला । ज्यालादारी श्रमिककोमा राहत पुर्‍याउने तिब्रतामा ध्यान पुगोस् ।’

उनले भने, ‘रोजगार कार्यक्रमका नाममा अघिल्लो वर्ष पानी बगायौं हामीले, अहिले बेरोजगार एवं शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहतको योजना तर्फ त्यो कार्यक्रमलाई किन नमोड्ने ?’

‘२० लाखसम्म ऋण लिएका साना ब्यवसायीको हकमा ३ महिनासम्मको ब्याज समेत मिनाहा गरियोस्’, उनले भने, ‘आज यिनलाई जोगाए भोलिको अर्थतन्त्र यिनैले उठाउने छन् प्रधानमन्त्रीज्यू ।’

‘नेपाल बाहिरपनि अर्को नेपाल छ प्रधानमन्त्रीज्यू, चालीस लाखको संख्यामा फैलिएको छ । हिजो निरन्तर रेमिटेन्स पठाएर देशको अर्थतन्त्र जोगाउने त्यो डायस्पोरालाई आज देशै संकटमा छ भनेर भुल्न मिल्दैन’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘अरु देशले आफ्ना नागरिक लगे र लगिरहेका छन् नेपालबाट िपरदेशबाट घर फर्कन हाम्रा जो चाहन्छन् तिनलाई देशले ल्याउन सक्दिन भन्नुहुन्न । सोँचौ, परामर्श गरौं र धैर्यसाथ आवश्यक निर्णयमा पुगौं ।’

‘सिमानामा आइपुगेर नारा लगाइरहेका अनुहार हेर्नोस् प्रधानमन्त्रीज्यू उनीहरू हिजो मत दिन आएका थिए, तपाईंलाई प्रधानमन्त्री बनाएर फर्किएका थिए’, उनले भने, ‘दशैंमा आउन कतिले सकेनन्, कोरोना संकटमा आउँदा देश छिर्न सकेनन् ।’

‘अलिअघिसम्म हजारौंलाई अव्यवस्थित ढंगले प्रवेश गराएका थियौं, आज सानो संख्यामा सिमानामा आइपुगेका नेपालीलाई ब्यवस्थित रुपले प्रवेश गराउने दायित्व देशको हो’, उनले भने, ‘संकटमा परदेशीलाई त सेवा पुर्‍याउनुपर्छ भने संकटमा आफ्नो देशमा शरण नपाउनुभन्दा ठूलो अन्याय के हुन सक्दछ । अत्यन्तै कारुणिक यो यथार्थप्रति प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’

‘हामी फेरि पनि यो संकटमा प्रधानमन्त्रीको साथमा छौं, दृढ ढंगले परिस्थितिको नेतृत्व गर्न यहाँलाई प्रतिपक्षी दलको हरसम्भव साथ र सहयोग रहनेछ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

Published : Thursday, 2020 April 2, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया