काेराेना घाेटाला प्रकरणमा मुछिएका मन्त्री ढकालको पक्षमा उभियाे एनआरएनए

काठमाडौं । चीनबाट खरिद गरिएको मेडिकल सामग्री नियतवश धेरै महँगोमा ल्याइएको बारेमा ब्यापक विरोध भएपछि स्वास्थ्य मन्त्रालयले उक्त टेण्डर नै रद्द गरेको छ । तर, त्यस्तो अनियमित कारोबारविरुद्ध समयमै सजग गराउने एक एनआरएन अभियन्ताविरुद्ध एनआरएनएकै नेतृत्व उभिएको छ ।

चीनको ग्वान्जाउमा १५ वर्षदेखि व्यापार गरिरहेका एनआरएनए आइसीसी सदस्य नवीन बिकले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खुला–पत्र लेखेका थिए । चीनबाट ल्याएको मेडिकल सामग्रीमा करोडौं भ्रष्टाचार भएकोले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भविश्यसँग खेलवाड नगर्न उनले चेतवानी पनि दिएका थिए ।

गलत कामको भण्डाफोर गर्ने आफ्ना सदस्यको बचाउ गर्नुपर्नेमा एनआरएनएका अध्यक्ष कुमार पन्त नेतृत्वको वर्तमान कार्यसमिति भने सिङ्गै मुलुक कोरोनाको संकटमा डुबेका बेला खुलेआम भ्रष्टाचार गर्न उद्यत वर्तमान खड्गप्रसाद ओली सरकारको लाज जोगाउन उभिएको छ ।

एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘नेपाल सरकारले चीनबाट स्वास्थ्य परीक्षण उपकरण र सुरक्षा सामग्रीहरूको खरिद गर्दाको प्रकृया र खरिद मूल्यका बारेमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

‘निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘संघले तोकेको आधिकारिक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसञ्चार माध्यमलाई समेत जानकारी गराउँदछौं ।’

‘खरिद प्रकृयाका विषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो’, आइसीसी सदस्य नवीन बिकको नाम उल्लेख नगरिएको सो वक्तव्यमा भनिएको छ, ‘यो आपतकालीन अवस्थामा देश विदेशमा बस्ने सबै नेपालीहरूलाई यस महाप्रकोपविरुद्ध सम्पूर्ण मानवजातिसंग एकजुट भएर लड्न अनुरोध गर्दछौँ ।’
नवीन बिकले यसै विषयमा सञ्चारकर्मी रवि लामिछानेको ‘सिधा कुरा जनतासंग’मा पनि खुल्ला रुपमा बोलेपछि सरकारको बिरोध गरेको भन्दै गैर आवासीय नेपाली संघले बक्तब्य निकालेको हो ।

स्वास्थ्य मन्त्रालयले २५ माघमा स्वास्थ्य सामग्री आपूर्ति गर्न भन्दै व्यवसायीलाई छलफलमा डाकेर कोटेसन मागेपछि १९ व्यवसायीले मन्त्रालयमा कोटेसन हालेका थिए ।
तर, त्यसको डेढ महिनापछि ६ चैतमा मन्त्रालयले सबै कोटेसन रद्द गरेको खबर हाम्राकुरा डटकमले लेखेको थियो ।

त्यसपछि मुलुक ‘लकडाउन’ घोषणा गरेर हतारमा टेन्डर गरी मिलेमतोमा ओबीसीआईलाई महँगोमा खरिदको ठेक्का दिएको कुरा नयाँ पत्रिका दैनिकले भण्डाफोर गरेको थियो ।
रसायन तथा मेडिकल आपूर्ति संघले व्यवसायीले हालेको कोटेसनभन्दा निकै महँगोमा सामान खरिद भएकोमा आपत्ति जनाएको छ ।

निश्चित व्यवसायीसँगको मिलेमतोमा खरिद प्रक्रिया अघि बढाइएको भन्दै संघले प्रश्न उठाएको छ । ‘प्रचलित बजारभन्दा अधिक मूल्यमा, आधिकारिक स्रोत नखुलेको र गुणस्तरको बेवास्ता गरी सामग्री खरिद गरिएको छ’, संघले भनेको छ, ‘यस्ता सामानको नतिजा के हुने भन्ने चिन्ता छ ।

तमाम बिरोध र खबरदारीका बावजुद पनि प्रथम चरणको सामान सरकारले ल्याएको थियो । तर, कोरोना टेस्ट किटहरू विश्व स्वास्थ्य संघले प्रमाणित नगरेकोले प्रयोग नै नहुने भएपछि सरकारले दोस्रो र तेस्रो अर्डर ल्याउने टेन्डर नै रद्द ग¥यो ।

सरकारले यस्तो महामारीको बेलापनि कमिसनको खेल खेल्ने पदाधिकारीहरूलाई बचाउन टेन्डर रद्दको छोटो बाटो रोजेको र भ्रस्ट र अनियमितता गर्नेहरूलाई बचाउन खोजेको भन्दै व्यापक आलोचना भैरहेको छ ।

हेर्नुहोस् नवीन बिकको पत्र

माननीय स्वास्थ्यमन्त्री श्री भानुभक्त ढकालज्यू,

स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल ।

म, नवीन बिक, बिगत १५ वर्षदेखी चीनको गोन्जाउ शहरमा अन्तर्राष्ट्रिय ब्यापार गर्दै बसेको छु । म एनआरएनएको केन्द्रीय सदस्य पनि हुँ । मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिँन, त्यसैले केही कुराहरू लेख्दैछु ।

देशमा यस्तो महामारी फैलिदै गरेको र देश पूरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्उने निर्णय गर्नु भयो त्यो जस्तो सह्रानीय र पवित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्यो होला । तर, आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपवित्र र घृणित काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ ।

यो पाप तपाईले रुद्री चण्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन । किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भविश्यसंग खेलवाड गर्नु भएको छ ।

नवीन विकले फेसबुकमा राखेको जानकारीलाई आधार मानेर अमेरिकी डलर १ बराबर नेपाली १२० राखेर हिसाव गर्दा ५ वटा सामानमा मात्रै ५४ करोड ५३ लाख ४३ हजार ३ सय २० रुपियाँको कमिसन चक्कर देखिन्छ । (श्रोत – नवीन बिकको फेसबुकबाट)

Published : Thursday, 2020 April 2, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया