प्रहरीको अवरोध तोडेर कांग्रेस नेता बस्नेतद्वारा स्वास्थ्य सामग्री बिरतण

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा स्वास्थ्यसम्बन्धी सामग्रीहरू वितरण गरेका छन् ।

कांग्रेस नेता बस्नेतले बुधबार सदरमुकाम चौतारामा रहेको जिल्ला अस्पतालमा स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएका छन् । प्रहरीले रोकेपनि उनले आफ्ना प्रतिनिधिहरूमार्फत स्वास्थ्य सामग्रीहरू वितरण गर्दै आएका छन् ।

कोरोना भाइरसको संक्रमणका सम्भावित बिरामीहरूको उपचारका क्रममा चिकित्सकहरूको सुरक्षाका लागि आवश्यक पर्ने सामग्री पीपीईसहितका सामान उपलब्ध गराएका हुन् ।

सरकारको तर्फबाट सिन्धुपाल्चोकमा जिल्ला अस्पतालदेखि स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमा कुनै पनि सामग्री नआएको कांग्रेस नेता बस्नेतले बताए ।

कांग्रेस नेता बस्नेतले मंगलबार नवलपुर र मेलम्चीका अस्पतालहरूलाई पनि पीपीई सेट निःशुल्क उपब्ध गराएका छन् । उनले मानेश्वर, कारथली, घुम्थाङ, घोरथली र बेड्कुमा पनि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

बस्नेतले ती सहयोगहरू कांग्रेसका क्षेत्रीय सभापाति टंक कार्कीमार्फत चौतारा अस्पताललाई दुई सेट पीपीइ, व्यक्तिगत सुरक्षा सामग्री, माक्स हस्तान्तरण गरेका थिए ।

ईन्द्रावती गाउँपालिकाको नवलपुर स्वास्थ्य केन्द्रमा सिम्पाल काभ्रेका सभापति ग्याल्पो तामाङले एक सेट पीपीइ, माक्स र सेनिटाइजर बितरण गरेका छन् ।

लकडाउनका बेला पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै सिन्धुपाल्चोकको प्रहरी र स्थानीय प्रशासनले कांग्रेस नेता बस्नेतको सवारी पास समेत खोसिदिएको छ ।

स्थानीय प्रशासन र प्रहरीको अवरोध हुँदा पनि जनताको स्वास्थ्यलाई ध्यान दिएर कांग्रेस नेता बस्नेतले स्वास्थ्यसम्बन्धी सामग्रीहरू उपलब्ध गराउँदै आएका छन् ।

सिन्धुपाल्चोकको कोदारी प्रहरीलाई समेत नेता बस्नेतले स्वास्थ्यसम्बन्धी सामग्रीहरू उपलब्ध गराएका छन् । उनले सिन्धुपाल्चोकको प्रहरीलाई पनि स्वास्थ्य सामग्रीहरू आवश्यक पर्‍यो भनेर माग गरिए दिन तयार रहेको बताए ।

ललितपुर जिल्लामा नेकपाका प्रतिनिधि सभाका सांसद नवराज सिलवाललाई प्रहरी प्रशासनले विनारोकतोक सहायता वितरण गर्न दिएको छ । तर, कांग्रेसका नेताहरूलाई प्रहरी प्रशासनले अवरोध गर्दै आएको छ ।

Published : Wednesday, 2020 April 1, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया